कैलाश राईको निर्देशनमा बनेको चलचित्र ‘मनसँग मन’ को दोस्रो गीत सार्वजनिक भएको छ । निर्माण टिमले शुक्रवार साँझ चलचित्रमा समावेश ‘टपक्कै सयपत्रि’ बोलको मारुनी गीत सार्वजनिक गरेको हो । गीतमा भावना थापाको स्वर र अमोङ गुरुङको शब्द तथा संगीत छ । कमल राईको कोरियोग्राफी रहेको गीतको भिडियोमा अभिनेत्री वर्षा सिवाकोटीले मारुनी नाचमा कम्मर मर्काएकी छन् ।

चलचित्रमा वर्षासँगै पुष्प खड्का, बुद्धि तामाङ, रविन्द्र झा, चाँदनी प्रधान, महेन्द्र बागदास, शन्ते दाल लगायतको पनि अभिनय छ । ‘चालबाज’ नाममा छायांकन भएको चलचित्रको पछि नाम परिवर्तन गरेर ‘मनसँग मन’ राखिएको हो ।
यो चलचित्र कोरोना महामारीका कारण प्रदर्शनमा आउन सकेको छैन । गत चैत २७ गतेलाई चलचित्रको प्रदर्शन घोषणा गरिएको भए पनि कोरोना महामारीको दोस्रो लहर सुरु भएपछि निर्माण टिमले प्रदर्शन मिति स्थगन गरेको थियो । अब चलचित्र कहिले प्रदर्शनमा आउँछ, टुंगो छैन ।
चलचित्रमा अर्जुन जिसीको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी र सन्तोष खवासको द्वन्द्व निर्देशन छ । सौरभ इन्टरनेन्मेन्ट र बलाली प्रोडक्शनको ब्यानरमा अरुण तामाङले निर्माण गरेको चलचित्रको कथा र पटकथा निर्देशक राईले तयार पारेका हुन् भने द्वन्द्व निर्देशन सन्तोष खवासको छ ।