सर्वाधिक लोकप्रिय गायिका अन्जु पन्तले आफ्नो करिअरमा २ हजारभन्दा बढी गीत गाइसकेकी छन् । ‘माया गर मायालुले, म त अलपत्रै, तिमी रोएको पल, न विर्से तिमीलाई, जिन्दगी यो फूलै फूलको, अधेँरी जस्तै जून विना, तिमीले पराई ठानेपछि, मलाई बाँसुरीले रुवायो’ जस्ता कयौं गीत उनका यादगार छन् । अहिले पनि सर्वाधिक चर्चित र व्यस्त गायिकामा गनिन्छिन्, उनी ।
ठूलोपर्दा टिभीसँगको ‘२० प्रश्न’ मा उनले आफ्नो सबैभन्दा प्यारो मान्छे छोरी रहेको बताएकी छन् । छोरीको बुझ्ने क्षमता, नम्र बोली र अरुलाई सहायता गर्ने बानी राम्रो रहेको उनको भनाई छ । उनी आफू पनि अरुको दुःख देख्न नसक्ने बताउँछिन् । उनी भन्छिन्, ‘अरुको दुःख देख्यो भने म भावुक हुन्छ । मलाई आँशु पनि देख्नु हुँदैन । बाटोमा असाहय-असक्त देखेँ भने सेवा गरिहाल्छु ।’

उनलाई क्षमा दिन सक्ने आफ्नो खुबी सबैभन्दा राम्रो लाग्छ । तर, एउटै कुरालाई हजार पटकसम्म क्षमा दिन सक्ने भए पनि अत्ति नै भएपछि रिस उठ्ने उनले बताएकी छन् । उनी आफूले गाएका मनपर्ने गीतहरु एउटा मात्र नभएको बताउँछिन् । तर, ‘जिन्दगी यो फूलै फूलको, अधँरी जस्तै जून विनाको, मलाई बाँसुरीले रुवायो’ लगायतका गीतले भने उनमा गहिरो इम्प्रेसन छाडेका छन् ।
उनले बाल्यकालमा ठूलो भएपछि शिक्षक बन्ने सोचेकी थिइन् । गायिका नभएको भए आफू यही पेशामा हुनसक्ने उनको भनाई छ । उनलाई जीवनमा कहिल्यै विर्सन नसक्ने क्षण भने छोरी जन्मँदाको हो । उनी त्यो पल आफ्नो लागि स्वर्णिम रहेको बताउँछिन् । उनी भन्छिन्, ‘गाह्रो त भएको थियो । झन्डै मरेर बाँचेको थिएँ । तर, छोरीको आगमनपछि जीवनमा आएको खुसी बेग्लै थियो ।’
अन्जु पन्तले सयौं चलचित्रका गीतमा समेत स्वर दिएकी छन् । उनी आफैं पनि चलचित्र हेर्न रुचाउँछिन् । फुर्सदको समयमा उनी परिवारको साथमा चलचित्र हेर्न हलमै पुग्ने गरेकी छन् । उनलाई आजसम्म हेरेका चलचित्रमध्ये ‘प्रेमगीत’ औधी मनपर्छ । उनले यो चलचित्र ४/५ पटक हेरिसकेकी छन् । हरेक पटक हेर्दा उनको आँखाबाट आँशु खस्छ । चलचित्र ‘कसले चोर्यो मेरो मन’ हेर्दा पनि उनी रोएकी छन् ।