तिहार बोकेर आउने सदाबहार गीत



चाडपर्वका लागि बनेका गीतहरुले सिंगो पर्वलाई नै बोकेको आभास दिलाउँछ । यतिबेला नेपालीहरुको दोस्रो ठूलो चाड तिहारले सबैतिर छाइसकेको छ । तिहारका लागि विशेष नै बनिसकेका पुराना गीतहरु घन्किन थालिसकेका छन् । जसले देशभरि तिहारको माहोल सिर्जना गरिसकेको छ । सबैको मनमा तिहारको झिलिमिली मौसम छाइसकेको छ ।

वर्षेनी नेपाली बजारमा तिहारसँग सम्बिन्धित गीतहरु आउने गरे पनि सदाबहार रुपमा तिहारभरि घन्किने गीत भने औँलामा गन्न पनि नपुग्ने मात्रै छन् । हामी यहाँ तिनै गीतको चर्चा गर्छौँ जो लामो समयदेखि तिहारका लागि विशेष गीत भएर गुञ्जिएका छन् ।

‘तिहारै आयो, लौ झिलिमिली’

तिहारको छेकोमा सर्वाधिक घन्कने गीत हो यो । यो गीतले तिहार नजिकिएको आभाष गराउँछ । निर्देशक शम्भु प्रधान निर्देशित चलचित्र ‘स्वर्ग’ मा समावेश गीतमा यादव खरेलको शब्द, शम्भूजीत बाँस्कोटाको संगीत र लोचन भट्टराई/नूतन प्रधानको स्वर छ । गीतमा अभिनेत्री गौरी मल्ल फिचर्ड छिन् । हरेक वर्षको तिहारमा देउसी खेल्नेहरु यही गीत गाएर देउसी खेल्न सुरुवात गर्छन् ।

‘दियो बाली साँझको…’

तुलसी घिमिरे निर्देशित सुपरहिट चलचित्र ‘चिनो’ को ‘दियो बाली साँझको’ बोलको तिहार गीत पनि दशकौंदेखि दर्शकमाझ लोकप्रिय छ । जब यो गीत घन्कन थाल्छ तब तिहारले घर-आँगन टेकेको महशुस गराउँछ । कुसुम गजमेरको शब्द, रञ्जित गजमेरको संगीत र आशा भोस्लेको स्वर रहेको गीतको भिडियोमा स्वर्गीय सुभद्रा अधिकारी र स्वर्गीय कलाकार केशव भट्टराईको अभिनय छ ।

‘निधारमा लर्काएर सप्तरंगी टीको’

राजेन्द्र सलभको निर्देशनमा बनेको चलचित्र ‘विजय पराजय’ मा समावेश ‘निधारैमा लर्काएर सप्तरंगी टीका’ गीतले पनि तिहारको महत्त्व झल्काउँछ । यो गीत दिनेश अधिकारीले लेखेका हुन् । गीतमा हेमलताको स्वर र शम्भुजित बाँस्कोटाको संगीत रहेको छ । गीतमा नायकद्वय भुवन केसी, कृष्ण मल्ल र अभिनेत्री रुपा राणा फिचर छन् । गीतमा बहिनीप्रति दाईभाईको प्रेम दर्शाइएको छ ।

‘हाँसेर बोल बहिनी तिहारको बेलैमा’

अनिल संग्रौलाद्वारा निर्देशित चलचित्र ‘माइती’ मा समावेश यो गीत तिहारमा बज्ने निकै चर्चित गीत हो । आनन्द कार्की, उदित नारायण झा, दीपा झा, नगेन्द्र श्रेष्ठको स्वर रहेको गीतमा लक्ष्मणले संगीत भरेका छन् । स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठ र नायिका निरुता सिंह फिचर यस गीतमा रिसाएकी बहिनीलाई दाजुले फकाउँदै गरेको र भाईटीका लगाउँदै गरेको परिवेश समावेश छ ।

‘अधरमा आज उनकै छ गीत’

तुलसी घिमिरे निर्देशित चलचित्र ‘अन्याय’ को ‘अधरमा आज उनकै छ गीत’ गीतले पनि तिहारको बयान गर्छ । गीतमा मनिला सोताङ्गको आवाज छ । टीका लगाएको र तिहारको थप परिवेशलाई गीतमा समेटिएको छ । आकाश अधिकारी निर्देशित चलचित्र ‘कोहिनूर’ मा समावेश गरिएको ‘यसपालिको तिहारै रमाइलो’ गीत पनि तिहारको बेला सर्वाधिक घन्किने गीतमध्येमा पर्ने गर्छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu