जलवायु परिवर्तनको विषयमा बनेका ५ चलचित्र पुरस्कृत



जलवायु परिवर्तनको विषयमा बनेका ५ चलचित्र पुरस्कृत भएका छन् । १८ वर्षभन्दा कम उमेरका किशोर किशोरीले बनाएका चलचित्रलाई विकास बोर्ड अध्यक्ष नेपालका अध्यक्ष दयाराम दाहाल र ब्रिटिश काउन्सिल अध्यक्ष शहीदा म्याकडुगले पुरस्कृत गरेका हुन् । ब्रिटिश काउन्सिल र चलचित्र विकास बोर्डले इन्टु फिल्मस् युकेसँगको सहकार्यमा जलवायु परिवर्तन सम्बन्धी विषयमा आयोजना भएको प्रतिस्पर्धामा अन्तिम १५ बाट ५ चलचित्रले पुरस्कार जितेका हुन् ।

ब्रिटिश काउन्सिलको ‘क्यामरा सिक’ कार्यक्रम अन्तर्गत आयोजना भएको प्रतिस्पर्धामा १८ वर्षभन्दा कम उमेरका किशोर किशोरीले जलवायु परिवर्तन सम्बन्धी विषयमा चलचित्र बनाउनु पर्ने सर्त राखिएको थियो । कार्यक्रमलाई युनिसेफ नेपाल, वाइल्ड लाइफ कन्जरभेसन र इन्टरनेसनल युथ मिडिया समिटको पनि साथ रहेको थियो ।

कार्यक्रममा अर्घाखाँचीको मदरल्यान्ड इंग्लिस बोर्डिङले बनाएको ‘लोन्ली स्टेप्स अफ अ फार्मर’ ले सबैभन्दा रुचाइएको चलचित्रको पुरस्कार पायो भने समता स्कुलले निर्माण गरेको ‘से नो टु प्लास्टिक्स’ ले दर्शकमाथिको प्रभाव शीर्षकको पुरस्कार जित्यो । त्यसैगरी अपराजिताले निर्माण गरेको ‘मिगर फ्युचर’ ले राम्ररी बनाएको चलचित्रको पुरस्कार जित्यो भने क्रिस्टल माउन्टेन स्कुल धो तराप उपत्यकाले निर्माण गरेको ‘क्लाइमेट चेन्ज इ द हिमालयज’ ले जलवायु परिवर्तन पुरस्कार पायो ।

नन्या खड्काले निर्माण गरेको ‘आइ एम हनुमन्ते’ ले भने नौलो शैलीको चलचित्र शीर्षकको पुरस्कार हात पारेको थियो । विजेता पाँचै जनाले ट्रफी तथा क्यामरा किट जिते । अन्तिम प्रतिस्पर्धामा छानिएका १५ वटा चलचित्रलाई चलचित्र निर्माणका लागि १ लाख ५० हजार रकम उपलब्ध गराइएको थियो । विजेता चलचित्रलाई चलचित्र विकास बोर्डका सूचना अधिकृत चिरञ्जीवी गुरागाइँ सम्मिलित निर्णायक मण्डलले छानेको थियो ।

जलवायु परिवर्तनमा किशोर किशोरीको आवाजको प्रतिनिधित्व गराउने उद्देश्यसहित ब्रिटिश काउन्सिलले सन् २०२१को मे–जुलाई महिनामा ‘क्यामरा सिक’ कार्यक्रम अन्तर्गत चलचित्र प्रतिस्पर्धाको आयोजना गरिएको थियो । प्रतिस्पर्धामा ५० भन्दा बढी लघु चलचित्र प्राप्त भएको थियो जसमध्ये १५ वटा छानेर सार्वजनिक मतदानका लागि राखिएको थियो । यसरी राखिएको मतदानबाट प्राप्त भोटका आधारमा ५ चलचित्र छानिएको हो । विजेता चलचित्रहरू स्कटल्यान्डको ग्लास्गोमा हुने युएनएफसीसीको कप-२६ सम्मेलनमा देखाइनेछ ।

यसैगरी समारोहमा जलवायु परिवर्तन सम्बन्धी चलचित्र बनाउनका छानिएका १० जना किशोर किशोरीको पनि नाम सार्वजनिक गरिएको थियो । छनौटमा परेका किशोर किशोरीले नोभेम्बर २० मा पर्ने बाल दिवसका दिन प्रदर्शन गर्ने गरी चलचित्र बनाउनु पर्नेछ । उनीहरूले चलचित्र बनाउन लागि १ लाख ५० हजार नगद सहयोग पाउनेछन् । छनोटमा परेका १५ चलचित्र अनलाइनमा हेर्न सकिने गरी उपलब्ध छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu