कोरोना महामारीले नेपालमा कुनै क्षेत्र सबैभन्दा बढी प्रभावित छ भने त्यो चलचित्र क्षेत्र हो । पहिलो चरणको महामारीमा चलचित्र क्षेत्रका गतिविधि करीब ९ महिना ठप्प रहे । बीचमा केही महिना खुले पनि कोरोनाको दोस्रो लहर सुरु भएसँगै फेरि बन्द भयो । चलचित्रकर्मी र चलचित्र सम्बद्ध संघ-संस्थाको अथक मिहिनेतपछि गत भदौबाट सरकारले हल खोल्न र छायांकनको अनुमति दियो ।

तर, सरकारले हल खोल्न अनुमति दिए पनि चलचित्र प्रदर्शन गर्न निर्माताहरु तयार भएनन् । जसले गर्दा दशैंको मुखमा आएर मात्र हल खुले । दशैंमा चलचित्र ‘डाँडाको वरपीपल’ प्रदर्शनमा आयो भने दोस्रो ठूलो चाड तिहारमा नेपाली चलचित्र प्रदर्शनमा आएका छैनन् । गोवर्धन पूजाको दिनबाट प्रदर्शनमा आएको बलिउड चलचित्र ‘सूर्यवंशी’ ले नेपालका हलहरुमा कब्जा जमाएको छ ।
दशैंमा प्रदर्शनमा आएको चलचित्र ‘डाँडाको वरपीपल’ ले हलमा पानी पनि भन्न नपाएपछि निर्माताहरु तत्काल चलचित्र रिलिज गर्न डराएका थिए । कोरोनाको भयले दर्शक हलसम्म नआउने सोच निर्मातामा थियो । तर, ‘सूर्यवंशी’ ले हलमा दर्शकको भीड ओइर्याएको छ । चलचित्र बलियो छ भने दर्शकलाई सिनेमा हलसम्म आउन केहीले रोक्दैन भन्ने यो चलचित्रले राम्रैसँग देखाएको छ ।
कोरोना महामारीअघि बलिउड चलचित्रलाई नेपालमा ‘निषेध’ नै गर्नुपर्छ भन्दै चर्का कुरा गर्ने चलचित्रकर्मी समेत अहिले ‘सूर्यवंशी’ ले हलसम्म दर्शक तानेकोमा कम्ता खुसी छैनन् । विदेशी चलचित्रको विरोधी मानिने कलाकार तथा निर्माता दीपकराज गिरीले समेत पहिलो पटक नेपालमा विदेशी चलचित्र चलेकोमा खुसी व्यक्त गर्दै सबैले सपोर्ट गर्न आग्रह गरेका छन् ।

आइतवार चलचित्र ‘सूर्यवंशी’ हेर्न सिनेमा हल पुगेका उनले अक्षय कुमार फिचर पोस्टरसँग लिएको एक सेल्फी पोस्ट गर्दै फेसबुकमा लेखेका छन्, ‘सूर्यवंशी’ समय । हल खचाखच छ । चलचित्र विदेशी हो हो तर यो अवस्थामा दर्शक हलसम्म ल्याउने काम गरेकोले सबैले सपोर्ट गरौं ।’ पहिला उनले विदेशी चलचित्रकै कारण नेपाली चलचित्र माथि उठ्न नसकेको बताउने गरेका थिए ।