चलचित्र ‘सत्यम्’ मा महानायक राजेश हमालको अपोजिटमा मोडल तथा भिजे नीलम चन्द देखिने भएकी छन् । चलचित्रमा उनी हमालको प्रेमिकाको भूमिकामा देखिने निर्देशक शंकर कार्कीले जानकारी दिए । लामो समयदेखि कान्तिपुर टेलिभिजनबाट प्रशारण हुँँदै आएको ‘कल कान्तिपुर’ मा भिजेको रुपमा काम गर्दै आइरहेकी नीलमले एक दर्जन बढी म्यूजिक भिडियोमा अभिनय पनि गरेकी छन् ।
‘सत्यम्’ मा हमालको पूर्व श्रीमतीको भूमिकाका लागि भने अभिनेत्री निरुता सिंहलाई अफर गरिएको छ । उनी आफ्नो भूमिकालाई लिएर सकारात्मक भए पनि कागजी सम्झौता भइसकेको छैन । एक समय हमाल र निरुताको जोडी पर्दामा निकै जमेको थियो । त्यसबेला दर्शकले उनीहरुलाई वास्तवमै श्रीमान्-श्रीमती ठान्ने गर्दथे । यो जोडीलाई फेरि ठूलो पर्दामा हेर्ने दर्शकको ठूलो इच्छा छ ।

चलचित्रमा राजेश हमाल र नीलमका अलावा पल शाह, मलिका महत, अनुपविक्रम शाही, किशन सुनार, मिलन सिजापतिको पनि मुख्य भूमिका रहनेछ । मंसिर दोस्रो हप्ताबाट चलचित्रको छायांकन सुरु हुने निर्देशक कार्कीले बताए । अहिले चलचित्रको इन्डोर छायांकनका लागि पोखरामा भव्य सेटको निर्माण भइरहेको छ । तिहारअघि चलचित्रका कलाकारहरुले धम्पुसमा दश दिनसम्म वर्कसप गरेका थिए ।
रेशम सापकोटाले निर्माण गर्ने यस चलचित्रमा अभय बराल, प्रिन्स प्रसिद्द सिंह थापा, नेरिस्का स्थापित, सूजन परियार लगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । गणेश पौडेल एशोसियट निर्माता रहेको फिल्ममा सह-निर्माताहरुमा रेशम गौतम, सुबास भुर्तेल, श्याम मल्ल र कृष्ण अधिकारी छन् । अष्ट मान महर्जनको द्वन्द्व निर्देशन रहने यस चलचित्रमा हमाल चार फरक लुक्स देखिनेछन् ।