मैले अभिनय गरेका सबै चलचित्र मसँग नजिक छन् : कर्मा



जिवन पराजुली।
कलाकार कर्मा शाक्य, चलचित्र र रंगमञ्चमा औधि रुचाइएको नाम हो । अभिनयमा विविधता दिन सक्ने उत्कृष्ट कलाकारको गिन्तीमा उनको नाम छुट्दैन । चलचित्र ‘लुट’ मार्फत दर्शकमाझ निकै राम्रो पहिचान बनाउन सफल कर्माले चलचित्र ‘सानो संसार’ बाट नायकको रुपमा डेब्यू गरेका थिए । ‘सानो संसार, रेशम फिलिली, भिसा गर्ल, लभ सासा’ उनका सम्झनलायक चलचित्रहरु हुन् ।

Karma Shkya Nepali Actor

डेढ दशक लामो आफ्नो अभिनय करिअरमा कहिल्यै विवादमा नपरेका कर्मा काठमाडौंका रैनाथे हुन् । बाल्यकालदेखि नै अभावको जीवन बाँच्नु परेका उनले गुरुकुलमा मञ्जन हुने नाटकबाट आफ्नो अभिनय यात्राको थालनी गरेका थिए । उनै, कर्मालाई ठूलोपर्दाका पत्रकार जिवन कुमार पराजुलीले रिल र रियल जीवनको बारेमा २० प्रश्न गरेका छन् । यस्ता छन् कर्मालाई सोधिएका २० प्रश्नहरु :

१. करिअर र प्रेममध्ये एउटा रोज्नुपर्‍यो भने के रोज्नु हुन्छ ?
अहिलेसम्म त करिअर नै रोजिरहेको छु । अब रोज्नु पर्दा पनि करिअर नै रोज्छु । 

२. कुन उमेरको प्रेम मीठो ? 
प्रेमको उमेर हुँदैन जस्तो लाग्छ । समय । 

३. सबैभन्दा प्यारो मान्छे ? 
आमा, बुबा र भाई ।

४. कस्तो कुराले तपाईंलाई इमोसनल बनाउँछ ? 
अन्याय, अत्याचार भएको देख्दा । 

५. तपाईं घर जानसाथ खुसी बनाउने कुरा के हो ?
मेरो कुकुर । म पहिलादेखि नै जनावर प्रेमी हुँ । प्रकृतिप्रेमी हुँ । घर पुग्नसाथ कुकुरबाट जुन प्रेम पाउँछु सायद त्यो कसैबाट पाउँदिनँ । 

६. घरमा त्यस्तो के वस्तु छ जसले तपाईंलाई प्रफुल्ल बनाउँछ ?
म अहिलेसम्म घर भनेर एउटै ठाउँमा कहिल्यै बसेको छैन । त्यसैले घरका वस्तुहरुसँग खासै धेरै अट्याच्मेन्ट छैन । 

७. कुन उमेरको जन्मदिनमा सबैभन्दा राम्रो उपहार पाउनुभएको थियो ?
मैले बच्चादेखि अहिलेसम्म यादै गर्ने गरी कहिल्यै जन्मदिन मनाएको छैन । जन्मदिनलाई मैले कहिल्यै महत्त्वका साथ हेरिनँ । तर, गते र तारिखको जन्मदिन एउटा छ र तिथीको जन्मदिन अर्को छ । तिथीको जन्मदिन चाहिँ म परिवारसँग बसेर मनाउने गर्छु । बर्थ-डे केकभन्दा पनि आमाले हरेक वर्ष दिने सगुन मेरो लागि एकदमै विशेष छन् । 

८. तपाईंलाई कुन फिल्मले रुवाएको छ ?
त्यस्तो फिल्म त धेरै नै छ । एउटा फिल्मको नाम मात्र लिन मलाई गाह्रो छ । गुरुकुलको दिनदेखि नै म धेरै यूरोपियन, इरानी, चाइनिज फिल्महरु हेर्थेँ । 

९. किन रुवाउँछ फिल्मले तपाईंलाई ? 
फिल्मको कथा र पात्रमा आफूलाई देख्न सक्ने हुनाले या मैले त्यो भावनाहरु महशुस गर्न सक्ने भएकाले हुनसक्छ ।

१०. तपाईंलाई मनपरेको एउटा फिल्म ?
त्यस्तो त धेरै छन् । एउटा मात्र नाम लिनु पर्दा ईरानी फिल्म ‘बरन’ मलाई एकदमै मन परेको हो । यो फिल्म मैले धेरैपटक हेरेको छु । पछिल्लो लकडाउनमा मैले परिवारसँग बसेर यो फिल्म हेरेको थिएँ । 

११. तपाईंले आफूलाई कहिल्यै इन्टरनेटमा सर्च गर्नुहुन्छ ? 
केही समय अगाडि एउटा साथीले चाहिँ गरेको थियो । मैले आफैंले चाहिँ गरेको छैन । 

१२. तपाईं कलाकार नहुनुभएको भए के हुनुहुन्थ्यो ?
त्यो त मलाई पनि थाहा छैन । 

१३. जोक्स सुन्ने वा भन्ने गर्नुहुन्छ ? 
भन्न त्यति सिपालु छैन तर सुन्ने चाहिँ गरेको छु । तर, सुन्ने गरेको भए पनि विर्सिहाल्छु । 

१४. तपाईंमा कुनै गीतले एकदमै प्रभाव छाडेको छ ?
त्यस्तो गीत त धेरै छ । एउटा भन्नु पर्दा गायक नारायण गोपालको ‘केही मीठो बात गर’ हो । यो गीत मैले स्कूलमा गाउने प्रयास पनि गरेको थिएँ । यो गीतले एकदमै छुन्छ मलाई । 

१५. तपाईंले अभिनय गरेकामध्ये एउटा राम्रो फिल्म छान्न सक्नुहुन्छ ? 
मैले अभिनय गरेका सबै फिल्म मसँग नजिक छन् । यो फिल्ममा मैले कम मिहिनेत गरेँ भन्ने कुनै पनि छैन । भलै सबै फिल्मले त्यसअनुरुप सफलता पाएनन् होला तर जति पनि फिल्ममा काम गरेको छु ती सबै मनबाट गरेको छु । र, सबै फिल्म मलाई उतिक्कै प्यारो छ । 

१६. स्कूल पढ्दाको बेस्ट शिक्षकको नाम याद छ ?
मैले बाल्यकालमा धेरै स्कूल परिवर्तन गरेँ । त्यसैले एउटै शिक्षकको नाम लिन गाह्रै होला तर सेन्ट जेभियर्स स्कूलमा अध्ययन गराउनुहुने अमेरिकन शिक्षक ‘फादर मिलर’ हुनुहुन्छ । त्यसबेला उहाँ स्कूलको प्रिन्सिपल हुनुहुन्थ्यो । उहाँले मेरो बुबालाई समेत पढाउनुभएको हो । 

१७. तपाईंलाई मनै नपर्ने कुनै विषय थियो ? 
म पढाईमा औसत नै हो । कन्ठ पार्नुपर्ने विषय भनेपछि मलाई दिक्कै लाग्थ्यो । गणित, विज्ञान, नेपाली मलाई बुझ्नै गाह्रो हुने विषय हुन् ।

१८. बाल्यकालको सबैभन्दा स्मरणीय क्षण याद छ ? 
जब बुबा ८ वर्षपछि अमेरिकाबाट फर्किएर मलाई स्कूलमा भेट्न आउनुभएको थियो त्यो क्षण म कहिल्यै विर्सन सक्दिनँ । 

१९. तपाईंको राम्रो र नराम्रो बानी ?
राम्रो बानीमा सबैसँग मिलनसार छु । खुलेर बस्छु । छिट्टै घुलमिल हुन सक्छु । नराम्रोमा चाहिँ मलाई आफैंले आफैंलाई चित्त बुझाउन गाह्रो हुन्छ । 

२०. तपाईं बुझ्ने भएपछि आमा-बुबाले दिएको आर्शिवाद कुन सम्झना छ ? 
जब मेरो पहिलो फिल्म ‘सानो संसार’ को प्रदर्शन थियो त्यसबेला बुबाले मलाई अंगालो हाल्नुभएको थियो । म त्यसलाई नै आर्शिवादको रुपमा लिन्छु ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu