गायक प्रशान्त तामाङले भारतको चर्चित गायन रियालिटी शो ‘इन्डियन आइडल’ को उपाधि जितेपछि भारतीय टेलिभिजनमा प्रशारण हुने गायन तथा डान्स रियालिटी शोमा नेपालीहरुको आकर्षण र सहभागिता बढेको छ । सुशान्त खत्री, प्रितम आचार्य, आयुष केसी लगायतले भारतका रियालिटी शोमा राम्रो स्थान हासिल गर्न सफल भएका थिए ।
तर, धेरैलाई भारतका रियालिटी शोमा कसरी भाग लिने भन्नेबारे थाहा हुँदैन । भारतको सोनी र जि टिभीबाट प्रशारण हुने बाल गायन रियालिटी शोमा सहभागि हुन चाहनेहरुलाई भने काठमाडौंको जावलाखेलमा रहेको सुरशाला म्यूजिक एकेडेमीले सहयोग गर्दै आएको छ । यही एकेडेमीले प्रितम आचार्य र आयुष केसीलाई भारतको चर्चित गायन रियालिटी शो ‘सारेगमपा’ को स्टेजसम्म पुर्याएको थियो ।

यस वर्ष पनि सुरशालाले सोनी र जि टिभीबाट प्रशारण हुने बाल गायन रियालिटीमा नेपाली प्रतिभालाई सहभागि गराउन अडिसनको तयारी थालेको छ । यस एकेडेमीका कार्यकारी अध्यक्ष तथा गायक अमृत क्षेत्रीले सोनी र जि टिभीमा अब हुने गायन रियालिटी कार्यक्रमको लागि सुरशालामा विशेष अडिसनको तयारी भइरहेकोले ७ बर्षदेखि १४ बर्षसम्मका इच्छुक बाल प्रतिभा तथा अभिभावहरुले सम्पर्क गर्न आग्रह गरेका छन् ।
सुरशाला म्युजिक एकेडेमीले ‘सुरशाला आइडल जुनियर’ नाम दिएर गायन प्रतियोगिता पनि गर्दै आएको छ । सन् २००४ मा स्थापना भएको सुरशाला एकेडेमीले गायन तथा संगीत सिक्नेहरुलाई नियमित रुपमा सिकाउँदै आएको छ । २०७२ सालमा गएको भूकम्पपछि यो एकेडेमीले विभिन्न स्थान, सेल्टर, विद्यालयहरुमा पुगेर मानिसहरुलाई म्युजिकल थेरापी दिएको थियो ।
