कलाकार टिकटकमा आउनै हुँदैन भन्ने पक्षमा म छैन : गौरी मल्ल



नेपालमा टिकटक एपको लोकप्रियता बढ्दो क्रममा छ । आम मानिस मात्र नभइ, सेलिब्रेटीहरु पनि टिकटकमा उतिक्कै सक्रिय रहने गरेका छन् । पूजा शर्मा, आकाश श्रेष्ठ, पल शाह, आँचल शर्मा, वर्षा सिवाकोटी, करिश्मा मानन्धर, प्रियंका कार्की, वर्षा राउत लगायतका कलाकारहरु टिकटकमा निकै सक्रिय छन् । लकडाउनको समयमा सेलिब्रेटीहरुको दिन काट्ने साथी नै टिकटक बनेको थियो ।

तर, पछिल्लो समय टिकटकले कलाकारलाई सस्तो बनाएको टिप्पणी हुँदै आएको छ । पैसा तिरेर हलमा हेरिने कलाकारहरुलाई दिनहुँ सित्तैमा घरमा बसेर टिकटकमा हेर्न पाएपछि दर्शक किन त्यो कलाकारको चलचित्र हेर्नका लागि हलसम्म जान्छन् भन्ने प्रश्न यतिबेला सर्वत्र उठेको छ । कतिपय भने टिकटकले गर्दा कलाकारलाई दर्शकसँग जोडिन सजिलो भएको तर्क राख्ने गरेका छन् ।

एक समयकी चर्चित अभिनेत्री गौरी मल्ल टिकटकमा आउँदैमा कलाकारको भ्यालू घट्छ भन्ने मान्न तयार नभएको बताउँछिन् । बुधवार एक कार्यक्रममा उनले भनिन्, ‘मैले टिकटकलाई कसरी प्रयोग गरिरहेको छु, त्यसमा पनि भर पर्छ । मबाट दर्शकले कस्तो खालको प्रस्तुती हेर्न चाहन्छन् त्यो अनुरुप जान सकेँ भने मेरो भ्यालू अर्कै हुन्छ । तर, टिकटकमै आउन हुँदैन भन्ने पक्षमा म छैन ।’

चलचित्र ‘सम्हालिन्छ कहिले मन’ को यूकेमा छायांकनको समयमा आफूले टिकटक एकाउन्ट खोलेको उनले बताइन् । पूजा शर्माले बनाएको हेरेपछि रमाइलो लागेर टिकटक बनाउन थालेकी उनी टिकटक हेर्दा र बनाउँदा आनन्द महशुस हुने बताउँछिन् । राम्रो तरिकाले आफ्ना गतिविधि र विचार राख्ने माध्यमको रुपमा प्रयोग गरे टिकटकले कलाकारको भ्यालू नघटाउने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu