लोकप्रिय गायक प्रमोद खरेल संयोगवस गायक बनेका हुन् । झापाबाट डाक्टर बन्न काठमाडौं आएका उनलाई समय चक्रले गायक बनायो । बाल्यकालमा भने उनी चलचित्रको कलाकार बन्न चाहन्थे । बाल्यकालमा चलचित्र भनेपछि हुरुक्कै हुने उनी हलमा चलचित्र हेर्दा भान्सा, यातायात, सम्पादन, ध्वनी, ब्यानर, प्रस्तुतकर्तासम्मको नाम कन्ठ पार्थे ।

‘बाल कलाकार हुन पाउँ‘ भनेर उनले तत्कालीन शाही चलचित्र संस्थानलाई चिठी समेत पठाएका थिए । तर, ठेगाना नमिलेकाले उनले लेखेको चिठी एक महिनामा उनकै हातमा आइपुग्यो । त्यसपछि उनले चलचित्रको कलाकार बन्ने सपना नै देख्न छाडे । गायकको रुपमा स्थापित भएपछि भने उनलाई चलचित्रबाट बाक्लै अफर आए र आइरहेका छन् ।
हालै एक टेलिभिजन अन्तर्वार्तामा उनले अहिलेसम्म आफूले ६/७ वटा चलचित्रको स्क्रिप्ट पढेको तर कुनैबाट चित्त नबुझेको बताए । उनी आफूलाई सुहाउने खालको स्क्रिप्टबाट अफर आएको अवस्थामा चलचित्रमा काम गर्ने बताउँछन् । उनी भन्छन्, ‘त्यो स्क्रिप्टले प्रमोद खरेल मात्र खोज्यो भने चलचित्र गर्छु । तर, बजारमा देखिरहेका कमर्शियल चलचित्र भने मबाट हुँदैन । समाजलाई सन्देश दिन खालको हुनुपर्छ ।’




