गायिका प्रविशा अधिकारीले मंसिरमा विवाह गर्ने भएकी छन् । अमेरिकामा बस्दै आएका इन्जिनियर निर्माण सिटौलासँग उनको विवाह मंसिर ५ गते झापामा हुने पक्का भएको छ । दुवै पक्षको परिवारको सहमतिमा विवाहको मिति तोकिएको जानकारी प्राप्त छ ।
प्रविशा र निर्माण दुवै झापा निवासी भएकाले उनीहरूको विवाह समारोह पनि झापामा नै हुन लागेको हो । विवाह हुने पक्कापक्की भइसक्दा समेत प्रविशा र निर्माणको प्रत्यक्ष भेट भएको थिएन । दशैंअघि निर्माण अमेरिकाबाट नेपाल आएपछि उनीहरुबीच पहिलो पटक भेट भएको हो ।

निर्माणसँग प्रविशाको विगत ४ महिनादेखि सामाजिक सञ्जालमा कुरा हुन थालेको थियो । निर्माणको परिवारबाट बिहेको प्रस्ताव आएपछि प्रविशाले वुझेर निर्णय लिने जवाफ दिएकी थिइन् । यसपछि, उनी र निर्माणविच कुराकानी हुन थालेको थियो । निर्माणको बानी ब्यहोरा मनपरेपछि विवाह गर्ने निर्णय लिएको प्रविशा बताउँछिन् ।
प्रविशा पछिल्लो समयकी चर्चित गायिका हुन् । चलचित्र र आधुनिक गरेर उनले थुप्रै गीतमा स्वर दिएकी छन् । हाल प्रविशा रियालिटी शो ‘द भ्वाइस किड्स’ मा जर्जको रुपमा रहेकी छन् । उनको स्वरमा रहेको चलचित्र ‘रोज’ मा समावेश ‘फूल हैन’ बोलको गीत निकै चर्चित भएको थियो ।