नायिका एलिजा गौतमले नयाँ चलचित्र साइन गरेकी छिन् । क्यानडाबाट फर्किएको केही समयपछि एलिजाले नयाँ चलचित्र साइन गरेकी हुन् । एलिजाले रामजी दैलेखीको निर्माणमा बन्न लागेको चलचित्र ‘घुँइचो’ मा काम गर्ने पक्का भएको छ ।
निर्माता दैलेखी र नायिका गौतमले संझौता पत्रमा हस्ताक्षर गरे । आरजे म्यूजिक एण्ड मिडियाको ब्यानरमा बन्ने यो चलचित्रले एउटा दुर्गम गाउँको यूवाको अमेरिकासम्मको यात्राको कथा भन्नेछ ।

एलिजाले चलचित्र साइन गरेपछि खुशी हुँदै भनिन्– ‘मैले लामो समयदेखि यस्तै कथाको प्रतिक्षा गरिरहेको थिएँ । ‘घुँइचो’ मा खोजे जस्तै कथा पाएपछि काम गर्न तयार भएको हुँ ।’ निर्माता दैलेखीले नायिका गौतमसँग सम्झौता भएको र अन्य कलाकार पनि चाँडै फाइनल गर्ने जानकारी दिए ।
यो चलचित्रको बिषयमा दैलेखीले भने–‘नेपालका हरेक क्षेत्रमा मानिसहरुको केही न केही प्राप्त गर्ने आशामा घुँइचो देखिन्छ । जुम्लाको एक सामान्य परिवारको यूवाको अमेरिका जानका लागि देखिएको आशक्ति र त्यहाँको भीडमा प्रवेश गरेपछि आउने परिवर्तनको कथामा चलचित्र बन्नेछ ।’




