नेपालमा पहिलो पटक मिडिया हाउस र मिडियाकर्मीहरुलाई अवार्ड प्रदान गरिने भएको छ । ड्रिम हाई नेपाल प्रा.लि.ले ‘नेपाल मिडिया अवार्ड २०७८’ को आयोजना गर्न लागेको हो । जसको बुधवार राजधानीमा रहेको पाँचतारे होटल सोल्टीमा एक कार्यक्रमका बीच घोषणा गरियो । विभिन्न २५ बढी विधामा रहेर प्रदान गरिने अवार्ड आउँदो पुष २३ गते आयोजना हुने बताइएको छ ।

नाकाबन्दीको प्रवाहा नगरी, भूकम्पको त्रास नभनी, विश्वव्यापी महामारी बनेको कोरोना कालमा दिलोज्यान दिएर सुचना प्रवाहमा अहोरात्र खटिने सञ्चारमाध्यम र सञ्चारकर्मीहरुलाई सम्मानीत, पुरस्कृत र प्रोत्साहन प्रदान गर्ने उद्देश्यले ‘नेपाल मिडिया अवार्ड २०७८’ आयोजना गर्न लागेको ड्रिम हाई नेपालका प्रमुख कमल जिसीले बताए ।
टेलिभिजन, छापा मिडिया, एफएम रेडियो र अनलाइन पत्रकारिता अन्तर्गत सञ्चारमाध्यम र सञ्चारकर्मीहरुको पछिल्लो एक वर्षयताको उपस्थिति र प्रस्तुतिलाई आधार बनाएर विभिन्न विधामा सम्मान प्रदान गरिने कार्यक्रममा जनाइयो । अवार्डमा उल्लेखित विधाबाहेक भुगोलतर्फ सात प्रदेशबाट २/२ जनालाई सम्मान गरिने अध्यक्ष जिसीले जानकारी दिए । त्यस्तै, नेपाली मिडियाको विकासक्रममा उल्लेख्य योगदान पुर्याउन दुई विशिष्ट सञ्चारकर्मीलाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरिनेछ ।
नेपाल पत्रकार महासंघसँगको समन्वयमा महासंघका पूर्व अध्यक्षसहित सञ्चार विज्ञसहितको ५ सदस्यीय निर्णायक टिमले सम्मानित हुने सञ्चारकर्मीको छनोट गर्नेछ । अवार्ड प्रदान गरिने विधाहरुमा टेलिभिजन अन्तर्गत न्यूज क्याटोगरी र नन् न्यूज क्याटोगोरी, बेस्ट जर्नालिस्ट अवार्ड (हुमन स्टोरीज्), अनलाइन जर्नालिजम, रेडियो/एफएम र जर्नालिस्ट अफ दि इयर रहेका छन् ।
‘नेपाल मिडिया अवार्ड २०७८’ को घोषणा कार्यक्रममा पत्रकार ऋषि धमला, नायक रमेश उप्रेती, चलचित्र पत्रकार संघका अध्यक्ष दिनेश सिटौला, नेपाल चलचित्र महासंघको एशोसियट प्रदेशको अध्यक्ष बैकुण्ठराज पराजुली लगायतको उपस्थिति रहेको थियो ।