सन्तोष सेनले चार करोड भारुमा बचे ‘प्रेम गीत ३’



कोरोना महामारीका कारण प्रदर्शनमा आउन नसकेको नेपाली चलचित्र ‘प्रेम गीत ३’ अब हिन्दी भाषामा पनि तयार भएको छ । लकडाउनको समयमा निर्देशक तथा निर्माता सन्तोष सेनले मुम्बईमा बसेर चलचित्रको हिन्दी डबिङ गरेका थिए । चलचित्रमा भारतका प्रख्यात डबिङ आर्टिस्टले डबिङ गरेका छन् । यसबीच, चलचित्रको भारतीय थिएटर राइट्स पनि बिक्री भएको छ ।

भारतको ‘इम्पोसिबल फिल्म्स्’ ले चलचित्रको थिएटर राइट्स चार करोड आइसीमा खरिद गरेको निर्माता सेनले जानकारी दिए । यो एमजी बापतको रकम हो । चलचित्रले भारतमा चार करोडभन्दा बढीको व्यापार गरेमा कम्पनीले ७० प्रतिशत लिएर निर्माता सेनलाई ३० प्रतिशत रकम उपलब्ध गराउनेछ । भारतका हलमा रिलिजका लागि चलचित्रको नाम ‘संघार’ राखिएको सेनले जानकारी दिए ।

भारतीय थिएटर राइट्सबाट प्राप्त रकमले चलचित्रको लगानी सुरक्षित भएको उनी बताउँछन् । उनका अनुसार, भारतमा चलचित्रको डबिङ, सम्पादन लगायतको कार्यमा १ करोड आइसी खर्च भएको छ । यो चलचित्र तमिल र तेलुगू भाषामा पनि तयार भइरहेको छ । नेपाल र भारतमा एकसाथ प्रदर्शन गर्ने सोचमा रहेका सन्तोष चलचित्रको रिलिजबारे छलफल गर्न केही दिनमा भारत जाँदैछन् ।

स्वं. छेतेन गुरुङ र सन्तोष सेनको निर्देशन रहेको यस चलचित्रमा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, शिव श्रेष्ठ, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, सुनिल थापा, माओत्से गुरुङ, लक्ष्मी वर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, सम्वृद्धि शाही ठकुरी लगायतको अभिनय छ । यो चलचित्रबाट मनिष र क्रिस्टिनाले नायक-नायिकाको रुपमा डेब्यू गर्दैछिन् । चलचित्रलाई राजेश श्रेष्ठले खिचेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu