सिनेमा हलमा रिलिज भएको करीब चार वर्षपछि चलचित्र ‘लम्फू’ यूट्युबमा सार्वजनिक भएको छ । यसै साता हाइलाइट्स नेपालको यूट्युब च्यानलमा सार्वजनिक भएको चलचित्रले उत्कृष्ट प्रतिक्रियासहित यूट्युबको ट्रेन्डिङ यात्रा पनि सुरु गरेको छ । दुई दिनदेखि चलचित्रले यूट्युब ट्रेन्डिङको दोस्रो स्थानमा आफूलाई सुरक्षित राखेको छ । पहिलो नम्बरमा भने नेपाली चलचित्र ‘यात्रा’ छ ।
तीन दिनमा झन्डै ९ लाखको आसपास भ्यूज बटुल्न सफल ‘लम्फू’ लाई २० हजार बढीले लाइक गरेका छन् । यूट्युबको कमेन्ट बक्समा चलचित्रलाई ९० प्रतिशत सकारात्मक प्रतिक्रिया प्राप्त छ । कतिले चलचित्र ‘मनछुने’ भन्दै तारिफको पुल बाँधेका छन् भने कतिले कथावस्तु र कलाकारको अभिनयको प्रशंसा गरेका छन् । सिनेमा हलमा पनि चलचित्रलाई दर्शकले मन पराएका थिए ।

कबिर खड्का, मरिश्का पोखरेल, सलोन बस्नेत, चाँदनी शर्मा, सञ्जित भण्डारी, कुशाग्र भट्टराई (बाल कलाकार), आयन खड्का, ओम गुरुङ्ग, अजित लामिछाने, सन्तोष कार्की, कुशल गुरुंग, काजोल, रश्मी भट्ट, जानुका पौडेल, पुष्प आचार्य, झलक कार्की, थमन सिंह पुर्जा लगायतको अभिनय रहेको चलचित्रलाई पपुलर मल्टिमीडियाको लागि शक्तिबल्दभ घोरासैनीले निर्माण गरेका हुन् ।
गोपालचन्द्र लामिछाने निर्देशित चलचित्रमा तरकारीवालीको नामले संसारभर प्रख्यात कुशुम श्रेष्ठको पनि अभिनय रहेको छ । यो चलचित्रमा एक युवाको जीवनमा आईपर्ने विभिन्न उतार-चढावको कथालाई पेश गरिएको छ । यूट्युबमा चलचित्रलाई प्राप्त सकारात्मक प्रतिक्रियाहरुले हौसला बढाएको निर्माता घोरासैनीले बताए । उनी चाँडै नयाँ चलचित्र पनि निर्माण गर्ने तयारीमा छन् ।