भारतको सिक्किम सरकारले आउँदो डिसेम्बरको १० देखि १४ तारिख (मंसिर २४ देखि २८ गते) सम्म राजधानी गान्तोकमा ‘सिक्किम ग्लोबल फिल्म फेस्टिभल’ को आयोजना गर्ने भएको छ । फेस्टिभलमा बलिउडसँगै नेपालका कलाकारहरुको पनि उपस्थिति रहने सिक्किम फिल्म प्रमोसन बोर्डले जनाएको छ ।

बोर्डले आइतवार सामाजिक सञ्जालमार्फत् एक पोस्टर सार्वजनिक गर्दै बलिउडबाट अभिनेत्री मलाइका अरोरा, अभिनेता अरिजीत दत्ता, निर्देशकहरु संजय पुरन सिंह, प्रियदर्शन, अभिनव कश्यप, अनन्त महादेवन लगायत फेस्टिभलमा उपस्थित हुने जानकारी दिएको छ । पोस्टरमा मलिकालाई ‘स्टार सेलेब्रेटी र क्याम्पेनर’ को रुपमा स्थान दिइएको छ ।
पोस्टरमा नेपालबाट भुवन केसी, अनमोल केसी, दयाहाङ राई, नम्रता श्रेष्ठ, अदिति बुढाथोकी, विनय श्रेष्ठ, शिवानी गुप्ता लगायत अटाएका छन् । उक्त फेस्टिभलमा सिक्किमा खिचिएका नेपाली तथा बलिउड फिल्मको पनि प्रदर्शन हुने सिक्किम फिल्म प्रमोसन बोर्डले जनाएको छ । ‘साइनो, जार, कथा’ लगायतका नेपाली फिल्म फेस्टिभलमा प्रदर्शन हुनेछ ।