नविन सुब्बाले घोषणा गरे ‘गाउँ आएको बाटो’, मुख्य भूमिकामा दयाहाङ



चलचित्र ‘नुमाफुङ’ का निर्देशक नविन सुब्बाले नयाँ चलचित्र ‘गाउँ आएको बाटो’ बनाउने घोषणा गरेका छन् । उनले यो चलचित्रबाट दश वर्षपछि निर्देशनमा कमब्याक गर्न लागेका हुन् । यस चलचित्रको मंगलवार राजधानीमा एक कार्यक्रमका बीच औपचारिक घोषणा गरियो । भोजपुरको ग्रामिण क्षेत्रमा छायांकन हुने चलचित्रले राई समुदायको कथा भन्नेछ ।

चलचित्रमा दयाहाङ राई, पशुपति राई, खानुमा राई, केशव राई, प्रमिशा राई, प्रेम सुब्बा लगायतका कलाकारहरुको मुख्य भूमिका रहनेछ । चलचित्र खिच्न निर्देशक सुब्बाले अमेरिकाबाट छायाँकार झिकाएका छन् । मार्किन कापरोनले यो चलचित्रलाई खिच्नेछन् । नेपाली छायाँकार धान्न नसक्ने भएपछि अमेरिकाबाट छायाँकार झिकेको निर्देशक सुब्बाले बताए ।

महेश राई र नविन सुब्बाको स्क्रिप्ट रहेको चलचित्रको निर्मातामा अमोद राई रहेका छन् । त्यस्तै, कार्यकारी निर्मातामा नेपालबाट सञ्जु राई, हङकङबाट देवराज राई, यूकेबाट नरहाङ राई र अमेरिकाबाट भीम राई रहेका छन् । हङकङ, मकाउ, नेपाल, यूके, अमेरिका, बेल्जियम, साउथ कोरिया, नेदरल्यान्ड, पोर्चुगल र जर्मनी निवासी व्यक्तिहरु चलचित्रको सह-निर्मातामा छन् ।

निर्देशक सुब्बाले चलचित्र राम्रो बनाउन प्रयास गर्ने बताए । चलचित्रको घोषणा सभामा उनले भने- ‘म लामो समयपछि निर्देशनमा फर्किएको छु । चलचित्र भयंकर राम्रो बनाउँछु भनेर दाबी त गर्दिनँ तर नराम्रो पनि बनाउने छैन । स्क्रिप्टबाट म सन्तुष्ट छु । अहिले हामी कलाकारसँँग बसेर चरित्र निर्माणको विषयमा छलफल गरिरहेका छौं । चलचित्रले नेपाली समाजको यथार्थलाई पस्किनेछ ।’

त्यस्तै, नायक दयाहाङ राईले नविन सुब्बासँग काम गर्नु आफ्ना लागि अवसर र चुनौती दुवै रहेको बताए । करिअरको सुरुवातमा सुब्बाको निर्देशनमा बनेको टेलिचलचित्र ‘दलन’ मा काम गरेको स्मरण गर्दै उनले लामो समयपछि चलचित्रमा सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गरे । अभिनेत्री पशुपति राईले पनि निर्देशक सुब्बासँँग काम गर्नु आफ्ना लागि अवसर र चुनौती दुवै रहेको बताइन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu