लामो समयदेखि दर्शकमाझ प्रतिक्षीत रहेको चलचित्र ‘प्रेमगीत ३’ ले नयाँ प्रदर्शन मिति घोषणा गरेको छ । हिन्दी र नेपाली भाषामा निर्माण भएको चलचित्रलाई आउँदो फागुन १३ गते प्रदर्शन गरिने निर्माता सन्तोष सेनले जानकारी दिएका छन् । एउटा ठूलो चुनौती मोलेर चलचित्र रिलिज गर्न लागेको उनको भनाई छ । चलचित्रको भारत प्रदर्शन मिति भने केही दिनमा सार्वजनिक गर्ने तयारीमा निर्माण टिम छ ।

कोरोना महामारीको समयमा निर्माता सन्तोष सेनले चलचित्रलाई हिन्दी भाषामा डब गरेका थिए । भारतको ‘इम्पोसिबल फिल्म्स्’ ले यो चलचित्रलाई एमजी स्वरुप भारु चार करोड दिएको छ । चलचित्र भारतमा चार करोडमाथिको व्यापार गरेमा कम्पनीले ७० प्रतिशत आफूलाई राखेर ३० प्रतिशत रकम निर्मातालाई उपलब्ध गराउनेछ । चलचित्रको रिलिजबारे छलफल गर्न सेन अहिले मुम्बईमा छन् ।
स्वं. छेतेन गुरुङ र सन्तोष सेनको निर्देशन रहेको यस चलचित्रमा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, शिव श्रेष्ठ, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, सुनिल थापा, माओत्से गुरुङ, लक्ष्मी वर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, सम्वृद्धि शाही ठकुरी लगायतको अभिनय छ । यो चलचित्रबाट मनिष र क्रिस्टिनाले नायक-नायिकाको रुपमा डेब्यू गर्दैछिन् । चलचित्रलाई राजेश श्रेष्ठले खिचेका हुन् ।


