एक समय नेपाली चलचित्र क्षेत्रमा आफ्नो बलियो उपस्थिति जनाएका नायक हन्, विराज भट्ट र रमित ढुंगाना । एक्सन भूमिकामा सर्वाधिक रुचाइएका यी दुईको करिअरको सुरुवात पनि लगभग एकै समयमा भएको थियो । ‘देवर बाबु, दुर्गा, ट्याक्सी ड्राइभर, हिम्मत’ लगायतका चलचित्रमा उनीहरुले एकसाथ काम पनि गरे । चलचित्रबाट जोडिएको उनीहरुको मित्रता अहिले पनि उतिक्कै राम्रो छ ।
काठमाडौंमा रहँदा विराज र रमितबीच प्रायः भेटघाट भइरहेको हुन्छ । दुवैको एकअर्काको परिवारसँग पनि निकै राम्रो सम्बन्ध रहेको बताइन्छ । तर, विगत एक दशकभन्दा लामो समयदेखि उनीहरुलाई दर्शकले एकसाथ ठूलो चलचित्रमा हेर्न पाएका छैनन् । पछिल्लो समय विराज नेपालीभन्दा भोजपुरी चलचित्रमा बढी व्यस्त छन् भने रमितले त चलचित्रमा काम नगरेकै वर्षौ भइसकेको छ ।

दर्शकहरुले विराज र रमितलाई फेरि चलचित्रमा हेर्ने इच्छा व्यक्त गरिरहेको अवस्थामा शुक्रवार इटहरी (सुनसरी) मा उनीहरुको जम्काभेट भएको छ । दुई हप्तादेखि एक भोजपुरी चलचित्रको छायांकनका लागि नेपालमा रहेका विराजसँग रमित र उनका दाई तथा नायक राजेश ढुंगानाको भेट भएको हो । उनीहरु तिनै जनाले सुपरहिट चलचित्र ‘जीवनदाता’ मा एकसाथ काम गरेका थिए ।
विराज र राजेशको काँधमाथि हात राखेको तस्विर फेसबुकमा पोस्ट गर्दै रमितले क्याप्सनमा ‘जीवनदाता’ लेखेका छन् । यो भेटले उनीहरुलाई चलचित्रमा सँगै काम गर्दाको क्षण स्मरण गराएको हुनसक्छ । रमितको फेसबुक पोस्टमा प्रायःले ‘जीवनदाता २’ लिएर आउन आग्रह गरेका छन् । उक्त भेटमा उनीहरुबीच फेरि चलचित्रमा सहकार्य गर्ने विषयमा कुरा पनि भएको जानकारी प्राप्त छ ।