मेरो उचाइँ बढाउन कुञ्जनाको योगदान छ : सिताराम कट्टेल



चर्चित हाँस्य जोडी सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) बैबाहिक जीवनमा बाँधिएको १३ वर्ष पूरा भएर १४ वर्षमा लागेको छ । २०६५ साल मंसिर १४ गते उनीहरुले प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका थिए । अहिले उनीहरुका एक छोरी छिन्, शुविहानी कट्टेल । सिताराम र कुञ्जनाको पहिलो पटक भेट र देखादेख नै सिरियलको सुटिङ सेटमा भएको थियो ।

कलाकार कट्टेलले कुञ्जनासँग पहिलो पटक भेट हुँदाको क्षण सम्झँदै आफ्नो फेसबुकमा लेखेका छन्, ‘सुटिङ सेट अनि माइक्रोमा मेकअप गरिरहेको बेला भएको त्यो भेट । अपरिचित युवति, लजालु स्वभावको म । खै कताबाट गफ गर्ने आँट पलायो ममा । परिचय मात्रै होइन उनीसँग निकै गफिएछु । सायद भगवानले चाहेर नै होला त्यो पहिलो देखभेटमै त्यति मज्जाले बोल्न सकेको ।’

पहिलो भेटमा नै आफूलाई कुञ्जना मजासिली र व्यवहारिक लागेको उनले सम्झिएका छन् । कुञ्जना आफ्नो जीवनमा प्रवेश गरेपछि धेरै कुराहरु परिवर्तन भएका उल्लेख गर्दै उनले लेखेका छन्, ‘मेरो जीवनले थप उर्जा प्राप्त गरेको छ । उनीसँग बिहे भएपछि मैले परिपक्व भएको महसुस गरेँ । व्यवहारिकता, आँट र हिम्मत गर्न उनले नै सिकाइन् । मेरो उचाई बढाउनमा उनको योगदान छ ।’

कुञ्जनासँग सच्चा माया मात्र नभइ असल भावना पनि रहेको उनले बताएका छन् । भूकम्पले थिलथिलो पारेको घाउमा मल्हमपट्टी लगाउन ११ महिनाको छोरीलाई कसैको काखमा सुम्पेर प्रभावितहरुको घरमा पुग्न आफूहरुलाई असल भावनाले प्रेरित गरेको सम्झँदै उनले आफूले कयौं पटक कुञ्जनाको मन दुखाएको र उनलाई खुसी दिन थुप्रै पटक चुकेकोमा दुःख व्यक्त गरेका छन् ।

एक समयको चर्चित टेलिश्रृंखला ‘मेरी बाँस्सै’ मा सिताराम र कुञ्जनाले निर्वाह गरेको ‘धुर्मुस र सुन्तली’ को चरित्रलाई दर्शकहरुले निकै रुचाएका थिए । यही सिरियलले उनीहरुलाई दर्शकमाझ लोकप्रिय बनाएको थियो । २०७२ सालको भूकम्पपछि सामाजिक कार्यमा सक्रिय रहेको यो जोडीले दुई वर्षअघि ‘सेन्टी भाइरस’ नामक चलचित्रमा एकसाथ अभिनय गरेको थियो । उनीहरु चाँडै नयाँ चलचित्र निर्माण गर्ने तयारीमा समेत छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu