कांग्रेसको केन्द्रीय सदस्यमा तीर्थ थापाले उम्मेदवारी दिने



नेपाली कांग्रेसको यही मंसिर २४ गतेदेखि सुरु हुन लागेको चौथौं राष्ट्रिय महाधिवेशनका लागि चलचित्र निर्देशक तीर्थ बहादुर थापाले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएका छन् । मंगलवार राजधानीमा एक कार्यक्रमका बीच उनले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । कलाकर्मीको प्रतिनिधित्व गर्दै आफूले केन्द्रीय सदस्यमा उम्मेदवारी दिन लागेको उनको भनाई छ ।

नेपाल सांस्कृतिक संघको केन्द्रीय सभापति समेत रहेका थापाले संस्कृतिकर्मी, कवि, कलाकार, नृत्यकार, चित्रकार, संंगीतकर्मी, गायक, लेखक लगायतलाई राज्यले दोस्रो दर्जाको नागरिकको रुपमा अवमुल्यन गरेकाले आफूले यिनलाई राज्यको प्रथम नागरिक सरह, सांसदमा समेत उपस्थिति गराउन, सम्मान, सुरक्षा र पहिचान प्रदान गर्न केन्द्रीय सदस्यमा उम्मेदवारी दिन लागेको बताए ।

उनले भने- ‘हामी कलाकर्मीले राजनीति गर्नु हुँदैन । हाम्रा हक-अधिकारका लागि बोल्नु हुँदैन । हामी राष्ट्रका गहना हौं भन्दा भन्दै आज जुग वितेको छ । मैले यो क्षेत्रमा ५० वर्ष विताएँ । यहाँभित्रका व्यथा र कठिनाईहरु वास्तवमै दर्दनाक छन् । कलाकर्मीको बारेमा सुन्दा र हेर्दा जति राम्रो देखिन्छ, वास्तवममा त्यो छैन । हामीलाई न राज्य न त कुनै राजनीतिक दलले नै साथ दिएको छ ।’

आफू १५ वर्षसम्म सांस्कृति संघको सभापति भएर बसे पनि पार्टीले उचित स्थान दिन नसकेको उनको गुनासो छ । ‘पार्टीभित्र मात्र होइन, राज्यका कुनै तह-तप्कामा समेत हाम्रो प्रतिनिधित्व हुन सकेको छैन । हाम्रो नाममा राजनीतिक दलले लुटेको छ । विभिन्न वर्गले शोषण गरेको छ । यस्ता कुरालाई समाधान गर्न मैले कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिन लागेको हुँ,’ उनले भने ।

उनलाई साथ र समर्थन गर्न कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, नेपाल चलचित्र संघका अध्यक्ष मधुसुदन प्रधान, नायक कृष्ण मल्ल, प्राविधिक संघका अध्यक्ष पुष्कर लामा लगायत कार्यक्रममा उपस्थित थिए । तीर्थ थापा नेपाली चलचित्रका पुराना निर्देशक हुन् । ‘अन्जुली, आन्दोलन’ लगायतका चलचित्रको निर्देशन गरेका उनले कयौं नाटक तथा चलचित्रमा अभिनय पनि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu