‘एक्स ९’ मा सुधांशु जोशी अनुबन्ध



अभिनेता सुधांशु जोशी लामो समयपछि चलचित्रमा फर्किने भएका छन् । विगत डेढ दशकदेखि अमेरिकामा बस्दै आएका उनले चलचित्र ‘एक्स ९’ बाट अभिनयमा पुनरागमन गर्न लागेका हुन् । निर्देशक मुकुन्द भट्टले सामाजिक सञ्जालमार्फत् चलचित्रमा सुधांशु जोशी अनुबन्ध भएको जानकारी गराए । सुधांशुले आफ्नो चरित्र राम्रो लागेपछि काम गर्न तयार भएको बताएका छन् ।

चलचित्र ‘जाली रुमाल’ बाट नायकको रुपमा डेब्यू गरेका उनले ‘रणभूमि, हत्या, विषालु, सीमा रेखा, जय बाबा पशुपतिनाथ’ लगायतका चलचित्रमा अभिनय गरेका छन् । उनले आफ्नै लगानीमा चलचित्र ‘नेपाल’ समेत बनाए । यो चलचित्रको असफलतापछि उनी अमेरिका हानिएका हुन् । ‘एक्स ९’ को सुटिङका लागि उनी आउँदो पुष अन्तिममा अमेरिकाबाट नेपाल आउने तयारीमा छन् ।

नेपालकै सबैभन्दा ठूलो एक्सन-थ्रिलर दाबी गरिएको यस चलचित्रमा अनमोल केसी, सौगात मल्ल, पुष्प खड्का, अनुप विक्रम शाही, राज कटुवाल लगायतका कलाकारहरुको अभिनय रहनेछ । विगत दुई महिनादेखि अनमोल, सौगात, पुष्प र राजले जिम र एक्सनको ट्रेनिङ लिइरहेका छन् । निर्माण टिमले चारै जनालाई पर्सनल ट्रेनर उपलब्ध गराएको छ । ट्रेनिङ चार महिना चल्नेछ ।

यो चलचित्रमा बलिउड सुपरस्टार सुनिल शेट्टीलाई समेत अनुबन्ध गर्ने तयारीमा निर्माण टिम रहेको छ । उनीसँग निर्देशकसहितको टोलीले मुम्बईमा एक चरण भेट गरिसकेको छ । नेपालमा उनले एक हप्तासम्म चलचित्रको छायांकन गर्नेछन् । चलचित्रको कार्यकारी निर्मातामा निर्मल कुमार मिश्र छन् भने निर्माताहरुमा विरेन्द्र बहादुर कँवर, मुकुन्द भट्ट, चन्द्र पन्त, बिदुर घन्टे र प्रदीप थापा छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu