चलचित्र ‘मंगलम’ पछि चलचित्र निर्माणबाट टाढा रहेका छविराज ओझा चार वर्षपछि नयाँ चलचित्रको तयारीमा जुटेका छन् । यसै हप्ता आफ्नो ५७औं जन्मदिनको अवसरमा उनले नयाँ चलचित्रको एउटा गीत रेकर्ड गराए । गीतमा प्रविशा अधिकारी र डेविड शंकरको यूगल स्वर रहेको छ भने दीपक शर्माको शब्द तथा संगीत छ ।

निर्माता ओझाले चलचित्र निर्देशनको जिम्मेवारी भने नवराज शर्मालाई दिएका छन् । सयभन्दा बढी चलचित्रमा सहायक निर्देशक भएर काम गरिसकेका उनले यही चलचित्रबाट ‘फूल फेज’ निर्देशनमा डेब्यू गर्न लागेका हुन् । अहिले चलचित्रको स्क्रिप्टमा काम भइरहेको र अबको दुई महिनापछि छायांकन सुरु हुने उनले बताए । चलचित्रका लागि कलाकार छनोट कार्य चाँडै सुरु हुने उनको भनाई छ ।
अहिलेसम्म आफूले राम्रो चलचित्र बनाउने कोशिश गरेको बताउँदै निर्माता ओझाले यसअघि नारी प्रधान चलचित्र बनाएको भए पनि यसपटक युवापुस्तालाई लक्षित गर्दै चलचित्र बनाउन लागेको जानकारी दिए । ‘निर्देशक नवराज शर्माको सोचमा चलचित्र बन्दैछ । मेरो हिसाबमा चाहिँ चलचित्र पूर्णतय लभस्टोरी हुनेछ । स्क्रिप्ट र गीत हेर्दा चलचित्र राम्रो बन्छ भन्नेमा म पूर्ण विश्वस्त छु,’ छविराजले भने ।