राष्ट्रिय प्रजातन्त्र पार्टीको बुधवारबाट काठमाडौंमा राष्ट्रिय महाधिवेशन सुरु भएको छ । यस महाधिवेशनमा चर्चित अभिनेत्री रेखा थापाले महामन्त्री पदमा उम्मेदवारी दिने भएकी छन् । हाल राप्रपाको केन्द्रीय सदस्य रहेकी उनी अध्यक्षका दाबेदार राजेन्द्र लिङ्देनको प्यानलबाट महामन्त्रीमा उठ्न लागेकी हुन् । उनले महिलातर्फ महामन्त्री पदमा उम्मेदवारी दिनेछिन् ।

रेखाले महामन्त्री पदमा उम्मेदवारी दिने भएपछि नेपाली फिल्मकर्मीहरुले उनलाई सामाजिक सञ्जालमार्फत् शुभकामना दिएका छन् । २०७३ सालमा राप्रपा प्रवेश गरेकी रेखा अब राप्रपालाई युवा नेतृत्वपंक्तिले हाँक्नु पर्ने बताउँछिन् । यही कारणले आफूले राजेन्द्र लिङ्देनलाई अध्यक्षमा समर्थन गरेको उनको भनाई छ । राजेन्द्रले उम्मेदवारी घोषणा गर्दा पनि रेखा उपस्थित थिइन् ।
काठमाडौं क्षेत्र नम्बर ४ बाट महाधिवेशन प्रतिनिधि बनेकी रेखा राप्रपा प्रवेश गर्दा कमल थापा निकट मानिएकी थिइन् । राप्रपा फुटेपछि भने उनी पशुपति सम्शेर राणाको राप्रपा (प्रजातान्त्रिक) को सह-महामन्त्री बनेकी थिइन् । पछि दुईटा राप्रपा एक भएपछि उनी केन्द्रीय सदस्य बनिन् । अब उनी महामन्त्री बन्ने दौडमा छिन् । राप्रपा महाधिवेशनमा उनीसँग फोटो खिच्नेहरुको भीड देखिएको छ ।