काठमाडौं अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (किम्फ) को १९ औं संस्करण आगामी मंसिर २३ देखि २७ गतेसम्म आयोजना हुने भएको छ । आइतबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै यसबारेमा जानकारी गराइयो । डकुमेन्ट्री, फिक्सन, प्रयोगात्मक, छोटा चलचित्र र एनिमेसन गरी विभिन्न २८ देशका ६० भन्दा बढी चलचित्र अनलाइन र दर्शकको प्रत्यक्ष उपस्थितीमा देखाइने भएको छ ।
कोरोना महामारीको जोखिम कायमै रहेकाले यसपटकको किम्फ हाइब्रिड शैलीमा गर्न लागिएको हो । यसवर्षको किम्फको उपशीर्षक ‘जलवायु कर्म’ राखिएको छ । उक्त उप शीर्षकको माध्यमबाट दर्शकलाई मानिसहरु वातावरणसँग कसरी सम्बन्धित छन् र स्थानीय तथा विश्वव्यापी रुपमा भइरहेका जलवायु परिवर्तनका प्रतिकूल प्रभावलाई कसरी कम गर्न सकिन्छ भन्ने सन्देश दिनु फेस्टिभलको उद्देश्य रहेको जनाइएको छ ।

किम्फको उद्घाटन समारोहमा भारतको लद्दाखका चर्चित वातावरण विद् र रोलेक्स पुरस्कार विजेता सोनम वाङ्चुकको मुख्य सम्भाषण (किनोट) प्रस्तुत हुने भएको छ । चर्चित बलिउड चलचित्र ‘थ्री इडियट्स’ सोनमकै जीवनमा आधारित रहेको बताइन्छ ।
यसवर्ष किम्फ र युरोपेली संघद्वारा नेपाली निर्माताका लागि ग्रीन ग्रोथ–ग्रीन रिकभरी शीर्षकमा छोटा चलचित्रका प्रतिस्पर्धा पनि गरिने भएको छ । किम्फ र सेभ द चिल्ड्रेनले वातावरणका लागि कल टू एक्सनमा टिकटक च्यालेन्ज प्रस्तुत गर्नेछन् । फेस्टिभलमा अनलाइन देखाइने चलचित्रहरु किम्फको अफिसियल वेबसाइटमा दर्शकले महोत्सव अवधिभर हेर्न सक्नेछन् ।
किम्फ २०२१ को निर्णायक मण्डलमा स्विस पत्रकार तथा पर्वतारोही मारियो कासेला, स्वीस पत्रकार तथा फिल्म निर्माता क्यारोलिन फिङ्क र नेपाली अभिनेता तथा निर्देशक अनुप बराल छन् । निर्णायक मण्डलले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा उत्कृष्ट हुने तीन फिल्म (छानिएका ४० मध्येबाट) र नेपाल पानोरमामा उत्कृष्ट वृत्तचित्र र फिक्सन चलचित्र (छानिएका १३ वटा मध्येबाट) निर्णय गर्नेछन् ।
अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पहिलो हुनेलाई २ लाख रुपैयाँ, द्धितिय हुनेलाई डेढलाख र तृतीय हुनेलाई १ लाख रुपैयाँ नगद पुरस्कार दिइने भएको छ । नेपाली पानोरमामा उत्कृष्ट हुने वृत्तचित्रले ७५ हजारको पुरस्कार र उत्कृष्ट आख्यानात्मक चलचित्रले १ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । त्यस्तै, उत्कृष्ट माउन्टेन चलचित्रले १ हजार अमेरिकी डलर प्राप्त गर्नेछ ।
अमेरिकाकी फोटोग्राफर सिरा क्रोवेलद्वारा मास्टर क्लास प्रस्तुत हुनेछ । नेपालमा मेरो खोज यात्रा नामक स्विस भूवैज्ञानिक टोनी हेगनको बिल्डिङ ब्रिजज टु द थर्ड वल्र्डको नेपाली अनुवाद तथा सस्टेनेबल समिट्स–क्लाइमेट सोलुसन्स फ्रम द टप अफ दी वल्र्ड लगायत चलचित्र स्क्रिनिङ हुने जनाइएको छ ।

किम्फमा ब्रेकिङ कोड रेड– डिग्निटी विथ डेन्जर शीर्षकमा नेपालमा महिनावारीको अभ्यास र कोपिङ विथ क्लाइमेट कर्म शीर्षकमा वातावरण सम्बन्धी संवाद र छलफल पनि प्रस्तुत हुने जनाइएको छ ।
महोत्सव अन्तर्गत नेपाल पर्यटन बोर्डमा विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपालले सिरा क्रोवेलको पर्वतीय फोटोग्राफी तथा हिउँ चितुवाका फोटाहरु प्रस्तुत गर्ने भएको छ । क्लाइमेट कर्म विषयक पोस्टर प्रदर्शनी समेत हुने भएको छ ।
किम्फका अध्यक्ष बसन्त थापाले महोत्सवमा देखाइने चलचित्र र यसमा समावेश कार्यक्रमले दर्शकलाई मनोरञ्जन दिनुका साथै वातावरण र जलवायु परिवर्तनका बारेमा विशेष जोडका साथ नेपाली जनतालाई असर गर्ने मुद्दाको बारेमा हुने संवादमा संलग्न गराउने बताए ।
हिमाल एसोसिएसनले आयोजना गर्ने किम्फ २०२१ को सह आयोजक काठमाडौं महानगरपालिका रहेको छ भने यसको प्रवद्र्धन नेपाल पर्यटन बोर्डले गर्ने भएको छ । यसपटकको किम्फ चावहिलस्थित चलचित्र विकास बोर्डको सभाकक्षमा हुनेछ । पत्रकार सम्मेलनमा किम्फको ट्रेलरसहित हिमालय क्षेत्रमा चितुवाको संरक्षण र फोहोर व्यवस्थापनबारेका दुई छोटा चलचित्र देखाइएको थियो ।