उमेरले ४५ वर्ष नाघेपछि कक्षा ८ बाट अध्ययन सुरु गरेकी अभिनेत्री करिश्मा मानन्धरले कक्षा १२ पनि पास गरेकी छन् । शुक्रवार सार्वजनिक भएको नतिजाअनुसार, उनको कक्षा १२ मा २.४१ जीपीए आएको छ । अब उनी स्नातक पढ्ने सोचमा छिन् । ग्रामीण विकास विषय लिएर स्नातकमा भर्ना हुन लागेकी करिश्मा आफूले सर्टिफिकेट लिनका लागि मात्र नपढेको बताउँछिन् ।
एक भिडियोमार्फत् करिश्माले यो उमेरमा आफूले अध्ययन सुरु गर्नुको उद्देश्यबारे भनेकी छन्, ‘कुनै पनि उमेरमा कुनै पनि चिज सिक्नका लागि ढिला हुँदैन र महिलाहरु शिक्षित हुनुपर्छ भन्ने उद्देश्यले नै मैले अध्ययनलाई सुरु गरेको हुँ । कुरिती, कु-संस्कारहरु हटाउनका लागि शिक्षा आवश्यक छ । म आफू मात्र शिक्षा हासिल गरेर सर्टिफिकेट लिनका लागि पढेको कदापी होइन ।’

धेरैका लागि आफूले अध्ययन सुरु गर्नु अति सामान्य लागे पनि यो उमेरमा स्कूल गएर पढ्नु आफ्नो लागि सामान्य नभएको उनको अनुभव छ । ‘धेरैका लागि मैले अध्ययन सुरु गर्नु सामान्य लाग्ला । तर, अध्ययनलाई छाडिसकेको मान्छे यो उमेरमा केटाकेटीसँग मिसिएर स्कूलमा पढ्नु मेरो लागि अलि सामान्य थिएन । कक्षा १२ सम्मको अध्ययन पूरा गरेँ भनेर खुसी छु,’ उनले भनेकी छन् ।
कक्षा १२ को रिजल्टबाट उनी खासै खुसी भने छैनन् । उनले जुन विषयमा राम्रो अंक आउँछ भन्ने सोचेकी थिइन्, त्यसमा धेरै कम अंक मिलेको छ । तर पनि उनले चित्त बुझाएकी छन् । उनको दुईवटा विषयमा ‘ए प्लस’ आएको छ । कक्षा १२ को परीक्षामा कम अंक आएर निराश भएका विद्यार्थीहरुलाई करिश्मा मानन्धरले अंक धेर र थोरले महत्त्व नराख्ने भन्दै सान्त्वना दिएकी छन् ।