चलचित्र ‘कठपुतली’ को ट्रेलर रिलिज (भिडियो)



काठमाडौँ । हरर जनरामा निर्माण भएको चलचित्र ‘कठपुतली’ को ट्रेलर सार्वजनिक भएको छ । बुधवार राजधानीमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको ट्रेलरमा राजाहरुको शासन समयमा दरबारभित्र हुने घट्नाक्रमलाई देखाइएको छ । केही दिनमा चलचित्रको दोस्रो ट्रेलर पनि सार्वजनिक गर्ने तयारीमा निर्माण टीम रहेको छ ।

आगामी पुष १६ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रलाई भिमसेन लामाले निर्देशन गरेका हुन् भने पृथ्वी राना मगर निर्माता हुन् । निर्देशक लामा लण्डन र निर्माता मगर हङकङमा भएकाले फिल्मको ट्रेलर रिलिज कार्यक्रममा उपस्थिति हुन सकेनन् । चलचित्रमा गौरी मल्ल, मिथिला शर्मा, कर्मा, शिल्पा माष्के, उषा रजक, सुवर्ण थापा, ध्रुव कोइराला लगायतका कलाकारहरुको अभिनय रहेको छ । यो चलचित्रलाई अष्ट्रेलियाका सिनेमाटोग्राफर जोएल फ्रूमले छायांकन गरेका छन् ।

चलचित्रका कलाकारदेखि लेखिका सम्पदा मल्लसम्मले ट्रेलर रिलिज कार्यक्रममा मास्क लगाएर प्रवेश गरेका थिए । चलचित्रकी कार्यकारी निर्माता समेत रहेकी मल्लले चलचित्र हरर जनरामा निर्माण भए पनि मौलिक कथामा बनेको बताइन् । उनले भनिन्, ‘हरर जनरामा हाम्रो पहिलो प्रयास हो । चलचित्र हरर भए पनि यसले हाम्रै माटोको कथा भन्छ ।’ चलचित्रले भूत-प्रेत, तन्त्र-मन्त्रको कथा भन्नेछ ।

कलाकार मिथिला शर्माले चलचित्रमा काम गर्न कथावस्तु र चरित्रले आफूलाई आकर्षित गरेको बताइन् । चलचित्रले नारीलाई सशक्त रुपमा प्रस्तुत गरेको उनको भनाई छ । उनी ‘कठपुतली’ लाई महिलाहरुको कथा भन्न पनि रुचाउँछिन् । नायक कर्माले हरर जनरामा यो चलचित्रले एउटा इट्टा थप्नेमा विश्वास व्यक्त गरे । चलचित्रको कथा बलियो भएकाले नै आफू आबद्ध भएको उनले बताए ।

त्यस्तै, लामो समयपछि अभिनयमा फर्किएकी उषा रजकले पहिलो पटक हरर चलचित्रमा काम गर्न पाएकोमा खुसी व्यक्त गरिन् । उनले अहिलेसम्म हरर चलचित्र समेत नहेरेको बताउँदै आफूलाई भूत-प्रेतप्रति विश्वास रहेको बताइन् ।

हालै अमेरिकाको प्रतिष्ठित इन्टरनेशनल फिल्म फेस्टिभल ‘विन्टर फिल्म अवार्ड’ मा दुईवटा महत्त्वपूर्ण अवार्ड जितेको ‘कठपुतली’ को सह-निर्मातामा विशाल गुरुङ, धर्म श्रेष्ठ र हेम थापा छन् । ओटीटी प्लेटफर्म ‘सिनेमा घर’ एपका सञ्चालक सागर खरेल चलचित्रमा बजार ब्यवस्थापकको रुपमा जोडिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu