उषा भन्छिन्, ‘मलाई भूत-प्रेतदेखि एकदमै डर लाग्छ’



अभिनेत्री उषा रजकले करीब ९ वर्षपछि कमब्याक गरेको चलचित्र हो, ‘कठपुतली’ । आगामी पुष १६ गतेबाट चलचित्र प्रदर्शनमा आउँदैछ । ८ वर्ष किर्गिस्तान बसेर नेपाल फर्किएकी उनलाई यूएनडिपीमा काम गरिरहेको समयमा यो चलचित्रबाट प्रस्ताव आएको थियो । स्क्रिप्ट मन परेपछि उनी तुरुन्तै चलचित्रमा काम गर्न राजी भइन् । ९ वर्षपछि चलचित्रमा फर्किएकाले उनी निकै उत्साहित देखिएकी छन् ।

बुधवार ट्रेलर सार्वजनिक कार्यक्रममा उषाले आफू यो चलचित्रमा आबद्ध हुनुको कारण लेखिका सम्पदा मल्ल रहेको बताइन् । उनी भन्छिन्, ‘मैले यसअघि गरेका प्रोजेक्ट पुरुष मेकरले अफर गर्नुभएको थियो । यो चलचित्र महिला मेकरले महिला एक्टरलाई अफर गर्नुभएको हो । यसलाई मैले नयाँ नेपालको रुपमा लिएको छु ।’ हरर जनरामा निर्माण भएको यो चलचित्रमा उनी भूत बनेकी छन् ।

जीवनमा एउटा पनि हररको चलचित्र नहेरेकी उषा आफूलाई भूत-प्रेतप्रति चाहिनेभन्दा बढी विश्वास रहेको बताउँछिन् । ‘म भूत-प्रेत, धामी-झाँक्रीप्रति विश्वास गर्छु । चाहिनेभन्दा बढी नै विश्वास गर्छु । म हरेक विहान भगवानको मन्त्र जप्छु । तर, मलाई भूत-प्रेतदेखि एकदमै डर लाग्छ । यसैले म रातमा ऐना पनि हेर्न सक्दिनँ । मैले आजका दिनसम्म हरर चलचित्र पनि हेरेको छैन,’ उनले भनिन् ।

उनले ‘कठपुतली’ मा आफू मेकअप विनाको भूत रहेको बताएकी छन् । यसअघि उनले ‘वान डे’, ‘इकु’, ‘कुसुमे रुमाल २’, ‘कथा’ चलचित्रका साथै ‘बाँकी उज्यालो’, ‘अर्को कुरुक्षत्र’ लगायतका नाटकमा समेत अभिनय गरिसकेकी छन् । उनले केही म्यूजिक भिडियोमा पनि काम गरेकी छन् । उषा यसपटक पनि दर्शकले आफूलाई साथ र माया दिनेमा विश्वस्त छिन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu