सञ्चारकर्मीलाई सम्मान र प्रोत्साहन गर्ने उद्देश्यले पौषमा हुन गइरहेको नेपाल मिडिया अवार्ड २०७८ मा लाइफ इन्स्योरेन्स करर्पोरेसन लि. (एलआईसी) ले मुख्य प्रायोजनको रुपमा जोडिएको छ । अवार्ड आयोजक कम्पनि ड्रिम हाइ नेपाल प्राली र एलआइसीबीच सोमबार सम्झौता पत्र आदान प्रदान भयो ।
एलआइसीका तर्फबाट सिइओ लक्ष्मीप्रसाद दास र ड्रिम हाइ नेपालको तर्फबाट कमल जिसीले सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौतासँगै अवार्डको नाम अब ‘एलआइसी नेपाल मिडिया अवार्ड २०७८’ भएको छ । नेपाल पत्रकार महासंघसँगको सहकार्यमा ड्रिमहाइ नेपालले यो अवार्ड गर्न लागेको हो ।

यस्तै, अन्तर्राष्ट्रिय कम्पनी ‘ब्लुचिप अफ कम्पनी’ सह-प्रायोजनमा जोडिएको छ । नेपालमा व्यापार प्रवर्धन गर्ने उद्देश्यले यो प्रकारको कार्यक्रममा जोडिएको ब्लुचिपका सिइओ रविन्द्रनाथ सोनीले बताए । अवार्डको लागी हालसम्म १० बढी कर्पोरेट कम्पनीहरुसँग प्रायोजन सम्झौता भइसकेको आयोजक संस्थाले जनाएको छ ।
टेलिभिजन, छापा माध्यम, एफ.एम. रेडियो र अनलाईन पत्रकारिता अन्तर्गत संचार माध्यम र संचारकर्मीको पछिल्लो एक वर्ष यताको उपस्थिति र प्रस्तुतीलाई आधार बनाएर सम्मान प्रदान गरिने आयोजक संस्थाका प्रमुख कमल जिसिले बताए ।