‘किम्फ’ को उद्घाटनमा जलवायु परिवर्तनको असरबारे चर्चा



काठमाडौं अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (किम्फ) को १९औं संस्करण बिहीवारदेखि राजधानीमा सुरु भएको छ । हिमाल एसोसियसनद्वारा आयोजित फेस्टिभल चलचित्र विकास बोर्डको अडिटोरियममा सुरु भएको हो । फेस्टिभल मंसिर २७ गतेसम्म चल्नेछ । हिमाल एसोसियसनद्वारा आयोजित फेस्टिभलको उद्घाटन भारतका चर्चित वातावरण अभियन्ता तथा रोलेक्स अवार्ड विजेता सोनम वाङचुकले गरेका हुन् ।

फेस्टिभलमा डकुमेन्ट्री, फिक्सन, प्रयोगात्मक, सर्ट र एनिमेसन फिल्म गरी २८ मुलुकका ६० भन्दा बढी चलचित्र देखाइने छ । यसपटक जलवायु परिवर्तनका असर चित्रण गरिएका चलचित्र, लैंगिक समानता र सशक्तिकरणका सन्देश दिने चलचित्रहरु किम्फमा देखाइने आयोजक संस्थाले जानकारी दिएको छ । फेस्टिभल शुभारम्भ काइली रुडिक निर्देशित वृत्तचित्र ‘ड्रीम माउन्टेन’ देखाइएको थियो ।

‘किम्फ’ का प्रमुख अतिथी वाङ्चुकले जलवायु परिवर्तनको असरप्रति गम्भीर बन्न सरकार र नागरिक दुबै गम्भीर बन्नुपर्ने बताए । उनले भने, ‘कोरोनले हामीलाई मानव सभ्यताप्रति गम्भीर बन्न र सोच्न सिकाएको छ । यो यसरी नै हामी वातावरणप्रति सचेत हुनुपर्छ ।’ हिमनदी पुग्लिँदा पानीका स्रोतहरु सुक्दै जान थालेको र यस्तो समस्या नेपाली हिमालय क्षेत्रमा सिर्जना भएको उनको भनाई छ ।

उनले डिफेन्स (प्रतिरक्षा) लाई सैनिक उपस्थिती र लगानीको रुपमा मात्र नबुझ्न आग्रह गरे । ‘मुख्य डिफेन्स भनेको जलवायु परिवर्तनलाई रोक्नु नै हो । यसतर्फ सरकारहरु केन्द्रित हुनुपर्छ,’ उनले भने, ‘विश्वभर रक्षा बजेट २ ट्रिलियन डलर छ । यो बजेटलाई कटौती गरेर जलवायुमा लगानी बढाउनुपर्छ ।’ हरितगृह प्रतिरक्षा नै अबको युगको डिफेन्स भएको वाङचुकको तर्क थियो ।

यसपटकको ‘किम्फ’ मा अभिनेता एवं निर्देशक अनुप बराल, स्वीस फिल्ममेकर क्यारोलाइन फिंक र मारियो कासेला निर्णायकको रुपमा छन् । ‘मैले निर्णायकको रुपमा जतिपनि चलचित्र हेरेँ, यी चलचित्र मात्र होइनन् बरु अद्भूत चलचित्र हुन्,’ निर्देशक बरालले उद्घाटन कार्यक्रममा भने, ‘यी चलचित्रले हामीलाई आफूभित्र फर्किएर हेर्न सिकाउँछन् र प्रश्नहरुको सामना गर्न सिकाउँछन् ।’

चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले जलवायु परिवर्तनको असर नेपालजस्ता कम विकसित मुलुकले भोगिरहेको बताउँदै चलचित्रमार्फत् यसबारे सन्देश दिन फेस्टिभलको योगदान महत्वपूर्ण हुने बताए । युरोपेली आयोगकी राजदूत नोना डेप्रेजले जलवायु संकटविरुद्ध लड्न ईयूले नेपाललाई सहायताको प्रतिबद्धता जनाएको र हरित विकासमा नेपालले ध्यान दिनुपर्ने बताइन् ।

आयोजक संस्था हिमाल एसोसिएसनका अध्यक्ष बसन्त थापाले जलवायु परिवर्तन यतिबेला विश्वको वास्तविक चुनौती रहेकाले यसपटकको फेस्टिभल जलवायुमा केन्द्रित रहेको बताए । यसपटकको संस्करणमा नेपाली चलचित्र निर्माताका लागि ग्रीन ग्रोथ–ग्रीन रिकभरी शीर्षकमा छोटा चलचित्रको प्रतिस्पर्धा गरिनुको साथै वातावरणका लागि कल टू एक्सनमा टिकटक च्यालेन्ज पनि हुने भएको छ ।

अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पहिलो हुनेलाई २ लाख, द्धितीय हुनेलाई डेढ लाख र तृतीय हुनेलाई १ लाख नगद पाउनेछन् । नेपाली पानोरमामा उत्कृष्ट हुने वृत्तचित्रले ७५ हजार र उत्कृष्ट आख्यानात्मक चलचित्रले १ लाख जित्नेछन् । त्यस्तै, उत्कृष्ट माउन्टेन चलचित्रले १ हजार अमेरिकी डलर पाउनेछ । ‘किम्फ’ मा ४० चलचित्र अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा र १३ चलचित्र नेपाल पानोरमार्फत् प्रतिस्पर्धी छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu