गाउँबाट सहर आएको एउटा युवाको सहरिया बन्ने यात्रालाई उतारिएको चलचित्र ‘चिसो एस्ट्रे’ को प्रदर्शन मिति घोषणा गरिएको छ । बिहीवार निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दै आउँदो चैत ४ लाई चलचित्रको प्रदर्शन मिति घोषणा गरेको हो । दिनेश पाल्पाली (दिन्श) को निर्देशनमा बनेको यो चलचित्रले आधुनिक बन्न खोज्दा आफैंलाई गुमाउन पुग्ने चरित्रको कथा भन्नेछ ।
चलचित्रमा दिव्य देव, निकुन श्रेष्ठ, नविन लम्साल, सुशील राज पाण्डे, रबिन तामाङ र सृष्टि श्रेष्ठको मुख्य भूमिका रहेको छ । कंगारु क्रिएसन र लोकल सिनेमाको ब्यानरमा निर्मित चलचित्रलाई महेशबाबु तिमल्सिनाले प्रस्तुत गरेका हुन् । निर्माणमा भने महेश बाबुलाई प्रबिन स्याङ्बा र सुस्मिता पराजुलीले सघाएका छन् । त्यस्तै, चलचित्रको सह-निर्मातामा रुपेश ढुंगाना र नविन ढुंगाना रहेका छन् ।

निर्देशक पाल्पालीले चलचित्रले मुख्य चार चरित्रमार्फत् मानिसको अन्तरयात्राको कथालाई पर्दामा प्रस्तुत गर्ने जमर्को गरेको बताए । ‘चलचित्रले गाउँबाट सहर आएर आधुनिक बन्न खोज्ने एक युवाको कथा भन्ने छ,’ निर्देशक दिन्शले भने, ‘तर, आधुनिक बन्ने चक्करमा उसले आफूैंलाई गुमाउन पुग्छ । आधुनिक बन्न उसले गर्ने यात्रा र यात्राका क्रममा भेटिने अरु यात्रुको कथा नै ‘चिसो एस्ट्रे’ हो ।’
यो चलचित्रमा दिन्शले लेखन, निर्देशनसँगै गीतकारको पनि भूमिका निर्वाह गरेका छन् । चलचित्रमा अजर जंगमको संगीत र नोबेल फ्रिक्सको पाश्र्व संगीत रहेको छ । उज्जल बस्ताकोटीको छायांकन रहेको यस चलचित्रलाई उज्जवल ढकालले सम्पादन गरेका हुन् । चलचित्रलाई काठमाडौंमा रिच इन्टरटेनमेन्ट र जिजिए ग्रुपले वितरण गर्नेछ भने काठमाडौं बाहिर एफडी कम्पनीले वितरण गर्नेछ ।