आगामी पुष ९ गतेबाट कमेडी प्रधान चलचित्र ‘चुरिफुरी’ प्रदर्शनमा आउँदैछ । यो चलचित्रको ट्रेलरले दर्शकको ध्यान खिचेको छ । चलचित्रमा निर्देशक तथा लेखक ऋषिराज आचार्यले वैदेशिक रोजगारी र जग्गा किनबेचमा हुने ठगीको विषयलाई उठाएका छन् । प्रदर्शन मिति नजिकिँदै गर्दा कलाकारको साथमा प्रचार-प्रसारमा दौडिरहेका उनी चलचित्र बलियो बनेको दाबी गर्छन् ।
कन्टेन्ट बलियो भएपछि डराउनु नपर्ने उनको कथन छ । उनी भन्छन्, ‘अहिलेको परिस्थिति सजिलो त छैन । तर, त्यति गाह्रो पनि छैन । किनकि, कन्टेन्ट बलियो भएपछि डराउनु पर्छ जस्तो मलाइै लाग्दैन । चलचित्रको कन्टेन्टप्रति म एकदमै विश्वस्त छु । तर, रिलिज नजिकिँदै गर्दा ढुकढुक चाहिँ हुने रहेछ । परीक्षा दिएको छु अब दर्शकले कति अंक दिनुहुन्छ, प्रतिक्षामा छु ।’
उनी कमेडी चलचित्रको भीडमा ‘चुरिफुरी’ फरक रहेको बताउँछन् । एक वर्ष लगाएर स्क्रिप्ट लेखेको बताउँदै उनले समाजभित्रका घट्नालाई आफूले गहिरोसँग अध्ययन गरेर प्रस्तुत गरेको बताए । चलचित्र हेरेपछि दर्शकले आफ्नै कथा महशुस गर्ने उनको भनाई छ । ‘चलचित्रले हँसाउँदैन मात्र, सन्देश पनि दिन्छ । चलचित्रले समस्याको समाधान खोज्ने प्रयास पनि गरेको छ,’ उनले भने ।

उनी चलचित्रमा आफूले देखेको र भोगेको कथा नै उठाएको बताउँछन् । चलचित्रमा जग्गा दलालीको विषयमा अध्ययन गर्न आफूले केही समय जग्गा दलालीकै संगत गरेको पनि उनले बताए । आचार्य भन्छन्, ‘चलचित्र फाइनल गर्दा सम्पादकले मलाई ‘तपाईं जग्गा दलालीको काम पनि गर्नुहुन्थ्यो’ भनेर सोध्नुभएको थियो । यसको अर्थ मैले गहिराइमा पुगेर कथालाई मूर्तरुप दिएको थिएँ ।’
चलचित्रले उठाएको अर्को विषय वैदेशिक रोजगारीको पनि हो । नेपालमा ९९ प्रतिशत युवाको सपना अमेरिका र अष्ट्रेलियामा पढ्ने र बाँकी डिपेन्डेन्टमा जाने भएकाले चलचित्रमा यो विषय उठाउँदा युवापुस्तालाई आफ्नै कथा भनेको जस्तो लाग्ने निर्देशक आचार्यको विश्वास छ । आम मानिसले दैनिक जीवनमा भोगिरहेका कुरालाई आफूले चलचित्रमा रोचक तरिकाले देखाएको उनको भनाई छ ।
निर्देशक आचार्यले दर्शकहरुलाई फरकपन दिने उद्देश्यले आफूले चलचित्रमा सानो पर्दाका हाँस्य कलाकारहरुलाई लिएको बताए । उनी भन्छन्, ‘म सधैं नयाँ प्रयोग गर्न रुचाउँछु । सानो पर्दामा रुचाइएका कलाकारहरुलाई चलचित्रमा राख्दा रमाइलो हुन्छ भन्ने मलाई महशुस भयो । सानो पर्दाका कलाकारहरुलाई ठूलो पर्दामा हेर्दा दर्शकलाई पनि रमाइलो हुन्छ भन्ने मेरो विश्वास छ ।’
ऋषिराज स्वयं निर्माता रहेको ‘चुरिफुरी’ मा अभिषेक श्रेष्ठ, पूजा पन्त, शिशिर भण्डारी, सुबोध गौतम, राजिब जङ्ग बस्नेत, पवन खतिवडा, सुनिता श्रेष्ठ, सोना बज्रचार्य, लक्ष्मी ढकाल, दीपक आचार्य, रविन्द्र झा, सुरवीर पण्डित लगायतको अभिनय छ । रिना ढकाल सह-निर्माता रहेको चलचित्रमा राहुल राइको छायांकन, भिमफेदी ग्रुपको कोरियोग्राफी र नविन निरौलाको सम्पादन छ ।


