‘किम्फ’ मा ‘भगवानको भैंसी’ सर्वोउत्कृष्ट चलचित्र



काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म फेस्टिभल (किम्फ) को १९ औं संस्करण सम्पन्न भएको छ । महोत्सवमा छायाँकर विष्णु कल्पितले निर्देशन गरेको १४ मिनेट २० सेकेन्ड लामो चलचित्र ‘गड्ज बफ्यालो’ अर्थात् ‘भगवानको भैंसी’ ले सर्वोत्कृष्ट पर्वतीय चलचित्रको अवार्ड जितेको छ । अवार्डसँगै सिनेमाले १ हजार अमेरिकी डलर प्राप्त गरेको छ । चलचित्रले नेपाल पानोरमा विधातर्फ सर्वोत्कृष्ट डकुमेन्ट्री विधामा समेत अवार्ड जित्दै ७५ हजार रुपैयाँ हासिल गरेको छ ।

चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले कल्पितलाई पुरस्कार प्रदान गरेका थिए । यस्तै, महोत्सवमा नेपाल पानोरमा किरण श्रेष्ठ निर्देशित चलचित्र ‘येट एनादर विन्टर’ उत्कृष्ट आख्यान सिनेमा बन्यो । अवार्डसहित चलचित्रले १ लाख रुपैयाँ नगद पुरस्कार समेत जितेको छ ।

नेपाल पानोरमामै विभूषण बस्नेत र पूजा गुरुङ निर्देशित ३८ मिनेट लामो चलचित्र ‘द बिग हेडेड ब्वाई, स्यामन्स एण्ड सामुरिज’ले स्पेसल मेन्सन अवार्ड जितेको छ । अन्तर्राष्ट्रिय खण्डतर्फ पाभ्लो बारबास निर्देशित ५४ मिनेट लामो चलचित्र ‘एभरेस्टः द हार्ड वे’ सर्वोत्कृष्ट बन्यो । चलचित्रले नगद २ लाख रुपैयाँ पुरस्कार जितेको छ ।

कोलम्बियाली निर्देशक भिभियाना गोमेजको निर्देशनमा बनेको ९२ मिनेट लामो चलचित्र ‘बिट्विन फायर एण्ड वाटर’ अन्तर्राष्ट्रिय प्रतिस्पर्धा खण्डतर्फ दोस्रो बनेको छ । चलचित्रले डेढ लाख रुपैयाँ पुरस्कार जितेको छ । १०५ मिनेट लामो अमेरिकी चलचित्र ‘आफ्टर अन्टार्कटिका’ अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा तेस्रो स्थान हासिल गर्न सफल भयो । चलचित्रले एक लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ ।

अन्तर्राष्ट्रिय विधातर्फ अरमेनियाली निर्देशक तामारा स्टेफनयानले निर्देशन गरेको ‘भिलेज अफ वुमन’ चलचित्रले स्पेसल मेन्सन अवार्ड जित्न सफल भयो । चलचित्र विकास बोर्डको हलमा पाँच दिनसम्म चलेको ‘किम्फ’ मा डोमिनिक बुस र जोन पोर्टरको निर्देशनमा बनेको चलचित्र ‘एभरेस्टः बाइ दोज हु वेयर दियर-१९२१, १९२२, १९२४’ प्रदर्शन गरिएको थियो । महोत्सवमा ४० चलचित्र अन्तर्राष्ट्रिय प्रतिस्पर्धा र १३ चलचित्र नेपाली पानोरमा विधामा सहभागी भएका थिए ।

हिमाल एशोसियसनले आयोजना गरेको फेस्टिभलमा जलवायु परिवर्तन, लैंगिकता, महिनावारी, स्वास्थ्यजस्ता मुद्दामा छलफल भएको थियो । महोत्सवको उद्घाटन वातावरण अभियन्ता तथा रोलेक्स अवार्ड विजेता सोनम वाङचुकले गरेका थिए । किम्फको १९ औं संस्करणमा निर्देशक अनुप बराल, स्वीस फिल्ममेकर क्यारोलिन फिंक र स्वीस लेखक मारियो कासेला जुरी थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu