नेपाली चलचित्र ‘प्रेमगीत ३’ को हिन्दी संस्करणको गीत रेकर्डको काम सकिएको छ । हिन्दी भाषामा समेत प्रदर्शनमा आउन लागेको यो चलचित्रको तीनवटा गीतमा भारतका चर्चित गायक-गायिकाहरुले स्वर भरेका छन् । राहत फतेह अली खानले ‘ये सनम तुही तु’, अंकित तिवारी र पलक मुछालले ‘तुम प्यार’ र देव नेगी र पलक मुछालले ‘मुझमे बस जाना’ गीत गाएका हुन् ।

चलचित्रका तीनवटा हिन्दी गीतलाई कुमार र एम तुराजले लेखेको निर्माता तथा निर्देशक सन्तोष सेनले जानकारी दिए । तिनवटै गीत उत्कृष्ट रहेको उनको दाबी छ । नेपालमा फागुन १३ गतेबाट प्रदर्शनमा आउन लागेको ‘प्रेमगीत ३’ को भारतका लागि भने प्रदर्शन मिति घोषणा भइसकेको छ । भारतको ‘इम्पोसिबल फिल्म्स्’ ले चार करोड भारुमा चलचित्रको थिएटर राइट्स किनिसकेको छ ।
स्वर्गीय छेतन गुरुङ र सन्तोष सेनको निर्देशनमा तयार भएको यस चलचित्रमा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, सुनील थापा, शिव श्रेष्ठ, मनिष राउत, सन्तोष सेन, लक्ष्मी बर्देवा, जीवन भट्टराई, माओत्से गुरुङ, पुष्कर कार्की, अनुभव रेग्मी, प्रेम पुरी, क्रिजन गौतम लगायतका कलाकारको अभिनय रहेको छ । यो चलचित्रबाट मनिष र क्रिस्टिनाले नायक-नायिकाको रुपमा डेब्यू गर्दैछिन् ।