‘कठपुतली’ निर्माताको आक्रोश- ‘सोझा व्यक्तिलाई हेपेको हो ?’



जिल्ला प्रशासन कार्यालयले गत भदौबाट घरहरु खोल्न अनुमति दिएपछि वितरक र हल व्यवसायीहरुको संस्था नेपाल चलचित्र संघले असोज २१ गतेबाट देशभरका हल खोल्ने निर्णय गर्दै दुई हप्ताको अन्तरमा मात्र नेपाली चलचित्र रिलिज गरिने जानकारी गराएको थियो । तर, संघको यो निर्णयलाई चुनौती दिँदै अहिले केही निर्माताहरु आफ्नै देशको चलचित्रसँग भिड्न तम्सिएका छन् ।

हरर जनरामा निर्माण भएको चलचित्र ‘कठपुतली’ ले सबैभन्दा पहिला सार्वजनिक विदा (सफला एकादशी) लाई लक्षित गर्दै पुष १५ गते (बिहीवार) लाई प्रदर्शन मिति घोषणा गरेको थियो । तर, पुष ९ गतेबाट प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘चुरिफुरी’ लाई एक हप्ता छाड्नुपर्छ भन्ने कुरा उठेपछि निर्माण टिमले एक दिन पछाडि सर्दै चलचित्रको प्रदर्शन मिति पुष १६ गतेलाई घोषणा गर्‍यो ।

तर, ‘कठपुतली’ ले पहिला प्रदर्शनका लागि जुन मिति रोजेको थियो, अब त्यही मिति (पुष १५) मा चलचित्र ‘चपली हाइट ३’ आएको छ । यो चलचित्र पुष २ गतेबाट प्रदर्शनमा आउने भनिएको थियो । तर, यो मितिमा साउथ र हलिउड चलचित्र आउने भएपछि ‘चपली हाइट ३’ पुष १५ मा सरेको हो । जसले गर्दा पुष १६ मा आउन लागेको ‘कठपुतली’ माथि अन्याय भएको निर्माताले बताएका छन् ।

हाल हङकङमा रहेका निर्माता पृथ्वी राना मगरले सम्बन्धित निकायले रिलिजको विषयमा समाधान खोज्न माग गरेका छन् । उनले भनेका छन्, ‘नियम कानुन भन्ने कुरा हामीलाई मात्र लागू हुने होकी अरुलाई पनि लागू हुन्छ ? ‘चुरिफुरी’ लाई एक हप्ता छाड्नु पर्छ भन्ने हामीलाई चाहिँ पछाडि हट्न लगाइयो । अनि ‘चपली हाइट ३’ भने पुष १५ मा आउँदैछ । यो त जंगली राज जस्तो भएन र ?’

‘कठपुतली’ लाई हटाउन लगाएर ‘चपली हाइट ३’ ले एक दिन अगाडि नै रिलिज गर्न अनुमति पाउनु आफूहरुमाथि अन्याय रहेको निर्माता मगर बताउँछन् । ‘यसबारेमा निर्माता संघ, चलचित्र विकास बोर्डले केही निर्णय गरोस् । यो त सरासर हामी जस्ता सोझा व्यक्तिलाई हेपेको जस्तो देखिन्छ । ‘चपली हाइट ३’ एक दिन अघि आउँछ भने हामीले पनि ठूलो निर्णय लिन सक्छौं,’ उनले भने ।

भिमसेन लामाले निर्देशन गरेको ‘कठपुतली’ मा गौरी मल्ल, मिथिला शर्मा, कर्मा, शिल्पा माष्के, उषा रजक, सुवर्ण थापा, ध्रुव कोइराला लगायतका कलाकारहरुको अभिनय रहेको छ । अष्ट्रेलियाका सिनेमाटोग्राफर जोएल फ्रूमले खिचेको चलचित्रको सह-निर्मातामा विशाल गुरुङ, धर्म श्रेष्ठ र हेम थापा छन् । केही दिनअघि सार्वजनिक भएको ट्रेलरले चलचित्रप्रति दर्शकमा उत्सुकता जगाएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu