अहिले कलाकारिताको पिता छु, अर्को पिताका लागि कोशिश जारी छ : राजेश हमाल



बिहे नगर्दासम्म ‘बिहे कहिले गर्ने ?’ भन्ने प्रश्नले हैरान बनेका महानायक राजेश हमाललाई विवाह गरेपछि अर्को प्रश्नले लखेटिरहेको छ । मिडियाकर्मी हुन् वा अन्य व्यक्ति, अचेल हरेकले उनलाई एउटै प्रश्न सोध्ने गरेका छन्, ‘पिता बन्न ढिला भएन र ?’ उमेरले ६० वर्ष पुग्न लागेकाले पनि उनलाई यो प्रश्न आउनु स्वभाविकै हो । तर, यस्ता प्रश्नमा हमालको जवाफ एउटै हुन्छ, ‘प्रयास जारी छ ।’

बिहीवार राजधानीमा आयोजिक एक कार्यक्रममा पनि उनले यो प्रश्नको सामना गर्नुपर्‍यो । त्यहाँ पत्रकारले होइन, उद्घोषिकाले ‘पिता कहिले हुने ?’ भनेर प्रश्न गरेकी थिइन् । हमालले पनि सधैंझैँ ठट्यौली शैलीमा जवाफ दिए, ‘पिता त पिता नै हो म तर अहिले चाहिँ कलाकारिताको पिता छु । अर्को पिताका लागि कोशिश जारी छ ।’ उनले छोरा र छोरी जे भए पनि बच्चा भए हुने बताए ।

उद्घोषिकाले अर्को प्रश्न गर्छिन्, ‘अहिलेसम्म बजार गएर तरकारी किन्नुभएको छ ?’ जवाफमा हमालले भनेका थिए, ‘सपिङ गर्न प्रायः मधु आफैं जान्छिन् । कहिले काहिँ उनले लिस्ट पठाइदिन्छिन् अनि म लिएर जान्छु । तर, प्रत्यक्ष गएर तरकारी भने किनेको छैन । तरकारी महंगो भन्ने कुरा मधुबाट चाहिँ सुनिरहेको हुन्छु । तर, मधुले अहिलेसम्म मलाई तरकारी किन्न पठाएकी छैनन् ।’

उद्घोषिकाले हमाललाई समकालीन दुई अभिनेता शिव श्रेष्ठ र भुवन केसीमध्ये एक जना छान्न आग्रह गर्छिन् । जवाफमा हमालले भनेका थिए, ‘भुवन केसी र शिव श्रेष्ठ दुवै मेरा परम मित्र हुनुहुन्छ । तर, शिवजी आधात्मीक व्यक्ति पनि भएकाले कहिले काहिँ उहाँसँग विभिन्न विषयमा कुराकानी हुन्छ ।’ उनले करिश्मा मानन्धर र निरुता सिंहमध्ये अभिनयको हिसाबले निरुता रोजेका थिए ।

हालसालै ‘मन बुढो भएन’ बोलको गीतमा आवाज भरेका राजेश हमालले आफ्नो गायन कला ट्वाइलेटका लागि मात्र उपयुक्त रहेको बताएका छन् । उक्त कार्यक्रममा उनले उद्घोषिकाको आग्रहपछि ‘मन बुढो भएन’ गीतको सानो अंश पनि गाएर सुनाएका थिए । उनले आफूले अभिनय गरेका तीन सय बढी चलचित्रमध्ये ‘युगदेखि युगसम्म, देउता’ मनसँग अत्यन्त नजिक रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu