‘चुरीफुरी’ को अष्ट्रेलिया राइट्स बिक्री



यही पुष ९ गते शुक्रवारबाट प्रदर्शनमा आउन लागेको कमेडी चलचित्र ‘चुरीफुरी’ को अष्ट्रेलिया राइट्स बिक्री भएको छ । चलचित्रको अष्ट्रेलिया राइट्स ‘बेलेक ब्रोस इन्टरटेन्मेन्ट’ ले खरिद गरेको हो । आइतवार चलचित्रको राइट्स खरिद-बिक्री सम्झौतामा हस्ताक्षर भएको निर्देशक ऋषिराज आचार्यले जानकारी दिएका छन् । यो चलचित्रको अष्ट्रेलिया राइट्स महंगोमा बिक्री भएको बताइएको छ ।

‘वर्तमान परिप्रेक्ष्यमा महंगो रकममा नै चलचित्रको सम्झौता भएको छ,’ आचार्यले भने, ‘उहाँहरुले चलचित्रको ट्रेलर तथा गीत हेरेर प्रदर्शनका लागि इच्छा देखाउनु भएको थियो । नेपाल प्रदर्शन लगत्तै ‘चुरीफुरी’ अष्ट्रेलियाका बिभिन्न शहरमा प्रदर्शन हुनेछ । अन्य देशहरुमा पनि चलचित्रको राइट्स बिक्रीको विषयमा छलफल भइरहेको छ ।’ चलचित्रलाई ऋषिराज स्वयंले निर्माण गरेका हुन् ।

रविन्द्र झा, शिशिर भण्डारी, दीपक आचार्य (काकु), सुरवीर पण्डित (दारी बा), पवन खतिवडा (म्याकुरी), सुबोध गौतम (एदुमे), अभिषेक श्रेष्ठ, सोन बज्रचार्य, पूजा पन्त, राजीवजंग बस्नेत, रिन्जिन गुरुङ, तुलसी प्रसाद श्रेष्ठ, सुनीता श्रेष्ठ, राजेन्द्र खाती, जोया ढकाल, ऋतु आचार्य लगायतको अभिनय रहेको चलचित्रले जग्गा दलाली र वैदेशिक रोजगारीमा हुने ठगीको कथा उठाएको छ ।

निर्देशक ऋषिराजकै लेखन रहेको चलचित्रलाई राहुल राईले खिचेका हुन भने नवीन निरौलाको सम्पादन छ । दीपक शर्माको संगीत रहेको चलचित्रको गीतको कोरियोग्राफी भीमफेदी गाइजले गरेको हो । रिना ढकाल (भण्डारी) पनि निर्माता रहेको चलचित्रको सह-निर्मातामा बिमला भुसाल, राजेन्द्र खाती, शिव थापा र खेमराज भण्डारी छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu