स्थानीय तहको निर्वाचनमा विभिन्न राजनीतिक दलबाट उम्मेदवार बनेका चलचित्रकर्मीहरुले जीत हासिल गरिरहेका छन् । निर्देशक मुनाल घिमिरे वडाध्यक्षमा, अभिनेता राज घिमिरे वडाध्यक्षमा र कलाकार किशोर भण्डारी वडा सदस्यमा निर्वाचित भइसकेको अवस्थामा सर्लाहीको बरहथवा नगरपालिकाको मेयरमा चलचित्रकी निर्मात्री कल्पना कुमारी कटुवाल निर्वाचित भएकी छन् ।

कटुवालले बरहथवाका निवर्तमान नगरप्रमुख देवानन्द महतोलाई पराजित गर्दै नगरप्रमुखमा जीत हासिल गरेकी हुन् । उनले १२ हजार २७३ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी महतोले ६ हजार ६६६ मत पाएका छन् । कल्पनाले मेयरमा जीत हासिल गरेर सर्लाहीमा एमालेको इज्जत जोगाएकी छन् । सर्लाहीमा चार नगरपालिकामध्ये बरहथवामा मात्र एमालेले मेयर जितेको हो ।
सर्लाहीको पहिलो महिला मेयर बनेकी कल्पनाले चलचित्र ‘रुद्र’को निर्माण गरेकी थिइन् । यो चलचित्रबाट उनका छोरा विश्व शर्माले अभिनेताको रुपमा डेब्यू गरेका थिए । तर, ‘रुद्र’पछि कल्पनाले नयाँ चलचित्र निर्माण गरेकी छैनन् । उनका छोराले केही म्यूजिक भिडियोमा पनि अभिनय गरेका छन् । कल्पना विजयी भएको नगरपालिका अभिनेता निखिल उप्रेतीको निर्वाचन क्षेत्र हो ।