तुलसी घिमिरेको ‘पहाड’को टिजर सार्वजनिक



काठमाडौं – दिग्गज निर्देशक तुलसी घिमिरेको लेखन तथा निर्देशन रहेको नयाँ चलचित्र ‘पहाड’को अफिसियल टिजर सार्वजनिक भएको छ। युवा जनशक्ति बिदेसिँदा रित्तिएका गाउँ र त्यसले निम्त्याएको सामाजिक तथा आर्थिक सङ्कटलाई मुख्य विषयवस्तु बनाइएको यस चलचित्र आगामी नयाँ वर्ष अर्थात् २०८३ सालको वैशाख १ गतेबाट विश्वभर एकसाथ प्रदर्शनमा आउने तय भएको छ।

निर्देशक घिमिरेका अनुसार ‘पहाड’ समग्र नेपालकै यथार्थपरक कथा हो। पुर्खाले आफ्नो सम्पूर्ण जीवन समर्पण गरेर सजाएको सुन्दर पहाड आजभोलि युवाहरू रोजगारीको खोजीमा पलायन हुँदा कसरी उजाड बन्दै गइरहेको छ भन्ने मर्मस्पर्शी यथार्थलाई चलचित्रले उठान गरेको छ। स्वदेशी तथा विदेशी वितरकहरूसँगको गहन छलफल र बाँकी प्राविधिक कामको पूर्णतालाई मध्यनजर गर्दै नयाँ वर्षको उत्तम साइतमा फिल्म रिलिज गर्न लागिएको उनले प्रस्ट पारे। यस चलचित्रले दर्शकलाई मनोरञ्जन मात्र नभई एउटा गम्भीर वैचारिक सन्देशसमेत समाज र परिवारसम्म पुर्‍याउने विश्वास निर्देशक घिमिरेले व्यक्त गरेका छन्।

यस चलचित्रले नेपाली रजतपटका दिग्गज अनुहारहरूलाई लामो समयपछि एउटै पर्दामा ल्याउँदैछ। कुनै समय ‘बलिदान’ र ‘चिनो’ जस्ता ऐतिहासिक चलचित्रमा घिमिरेसँग सहकार्य गरेका मदनकृष्ण श्रेष्ठ, शिव श्रेष्ठ र सुनिल थापा ‘पहाड’मार्फत पुनः जोडिएका छन्। उनीहरूसँगै वर्तमान पुस्ताका चर्चित अभिनेता विपिन कार्की, अरुण क्षेत्री, रवीन्द्रसिंह बानियाँ, रेणुनाथ योगी र उमा गिरीलगायतको सशक्त अभिनय यसमा देख्न पाइनेछ। यसै चलचित्रमार्फत निर्देशक घिमिरेकी कान्छी छोरी पञ्चमी घिमिरेले अभिनेत्रीका रूपमा डेब्यु गर्दैछिन् भने जेठी छोरी भावना घिमिरेले प्रोडक्सन डिजाइनरको महत्त्वपूर्ण जिम्मेवारी सम्हालेकी छन्। कथाका पात्रहरूमा पूर्ण रूपमा फिट भएपछि पुराना सहकर्मीहरूलाई प्रस्ताव गरिएको र सबैले नयाँ उत्साहका साथ काम गरेको निर्माण पक्षले जनाएको छ।

भाग्यरत्न फिल्म्स प्रालिको ब्यानरमा निर्माण भएको यस प्रोजेक्टमा प्राविधिक टोली पनि निकै बलियो छ। ‘अन्याय’, ‘कोसेली’ र ‘दक्षिणा’लगायतका फिल्ममा घिमिरेलाई साथ दिएका अनुभवी छायाकार प्रमोद प्रधानले नै यस चलचित्रको दृश्य कैद गरेका छन्। उत्तम रसाइली प्रस्तुत कर्ता रहेको चलचित्रमा सुरेन्द्र लामा थिङ, ओजस्वी केसी, रिम्पोछे लामा थिङ र उमा गिरीले निर्माणमा लगानी गरेका छन् भने क्रिएटिभ निर्माताको रूपमा भारती घिमिरे रहेकी छन्। रञ्जित सिंह गजमेरको सुमधुर सङ्गीत, कविराज गहतराज र मिङ्मा डी लेप्चाको कोरियोग्राफी तथा कुमार महर्जनको एक्सन रहेको यस चलचित्रलाई शङ्कर कोइराला र भारती घिमिरेले सम्पादन गरेका हुन्। रोयल भीमसेन र ट्राइडेन्ट कन्सेप्टले पब्लिसिटी डिजाइन गरेको ‘पहाड’लाई नेपालभित्र वैङ्कटेश इन्टरटेनमेन्ट र डायस्पोरा (अन्तर्राष्ट्रिय बजार) मा सेभेन सिज इन्टरनेसनल फिल्म्सले वितरण गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu