‘टक्सिक’सँगको भिडन्त टार्दै एक साताअघि सर्‍यो ‘मितज्यू’



काठमाडौं  – भारतीय चलचित्रसँगको सम्भावित व्यावसायिक भिडन्तलाई टार्दै नेपाली कथानक चलचित्र ‘मितज्यू’ले आफ्नो प्रदर्शन मिति हेरफेर गरेको छ। आगामी जेठ १५ गतेका लागि रिलिज तय गरिएको यस चलचित्रलाई अब एक साता अगाडि अर्थात् जेठ ८ गते नै दर्शकमाझ ल्याइने भएको छ। बहुचर्चित भारतीय चलचित्र ‘टक्सिक’ पनि सोही समयमा प्रदर्शनमा आउने र दुवै चलचित्रको वितरक एउटै परेका कारण ‘मितज्यू’लाई अगाडि नै ल्याउने रणनीतिक निर्णय गरिएको बुझिएको छ। नयाँ प्रदर्शन मितिको घोषणासँगै आइतबार निर्माण टोलीले चलचित्रको दोस्रो पोस्टर पनि सार्वजनिक गरेको छ।

सार्वजनिक नयाँ पोस्टरले चलचित्रको कथावस्तु ग्रामीण परिवेश र त्यहाँको सामाजिक द्वन्द्वमा आधारित रहेको स्पष्ट सङ्केत गरेको छ। पोस्टरमा चलचित्रका मुख्य कलाकारहरू दयाहाङ राई, सौगात मल्ल, तेरिया फौजा मगर, शिशिर वाङ्देलसहित अर्का एक पात्रलाई स्थान दिइएको छ। पोस्टरमा सौगात मल्लले हातमा भाले च्यापेका छन् भने दयाहाङ राई निकै क्रुद्ध (रिसाहा) अवतारमा प्रस्तुत भएका छन्। त्यसै गरी, टाउकोमा मजेत्रो बेरेकी तेरिया मगरको मुहारमा गहिरो दुःख र उदासी झल्किन्छ। उनीहरूको तुलनामा शिशिर वाङ्देल र अर्का पात्र भने शान्त मुद्रामा उभिएका छन्। पृष्ठभूमिमा पहाडी बाटोमा गुडिरहेको गाडी र फुस्को छानो भएको घरको दृश्यले पोस्टरलाई थप जीवन्त र रहस्यमयी बनाएको छ।

अनिल बुढा मगरको निर्देशनमा तयार भएको यस चलचित्रमार्फत चर्चित डान्सर तेरिया फौजा मगरले अभिनेत्रीका रूपमा नेपाली रजतपटमा आफ्नो डेब्यु गर्दैछिन्। चलचित्रमा दयाहाङ, सौगात, तेरिया र शिशिरका अलावा पुष्कर गुरुङ, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने, अरुण पुन मगर, उत्तम राज पाण्डे, सविन कट्टेल, उमेश सोनाम, पवित्रा खड्का, चाहना राना मगर, अनुशा राई र खड्गबहादुर पुन मगर (खबपु) लगायतका कलाकारहरूको जम्बो टोलीको अभिनय रहेको छ।

जीएम मुभिज प्रोडक्सनको ब्यानरमा निर्माण भएको ‘मितज्यू’मा जनक घर्ती मगरको लगानी रहेको छ। प्राविधिक पक्षतर्फ पनि चलचित्रलाई बलियो बनाउने प्रयास गरिएको छ। शिशिर विशङ्खेले क्यामेरामा कैद गरेको यस चलचित्रलाई लोकेश बज्राचार्यले सम्पादन गरेका हुन्। श्रीकृष्ण बम मल्लको सङ्गीत रहेको चलचित्रका गीतहरूमा सङ्गीतकार मल्लसहित मेलिना राई र लक्ष्मी मल्लको स्वर सुन्न सकिन्छ भने चलचित्रको ब्याकग्राउन्ड स्कोर शैलेश श्रेष्ठले तयार पारेका हुन्। चलचित्रलाई आरआर फिल्म्सले वितरण गर्दैछ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu