सुहानाको भावपूर्ण अभिनयसहित ‘परालको आगो’को कालजयी गीत ‘उडी जाऊँ भने…’ नयाँ स्वरूपमा सार्वजनिक



Screenshot

काठमाडौं – आगामी वैशाख ११ गतेबाट प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘परालको आगो’को पहिलो गीत सार्वजनिक भएको छ। चार दशकअघि स्वर किन्नरी अरुणा लामाको स्वरमा सजिएको कालजयी गीत ‘उडी जाऊँ भने म पन्छी होइन’लाई निर्माण पक्षले नयाँ स्वरूपमा सोमबार दर्शकमाझ ल्याएको हो।

सार्वजनिक भिडियोमा चलचित्रका मुख्य कलाकारहरू सुहाना थापा, प्रकाश सपुत र बाल कलाकार मञ्जिला बानियाँलाई फिचर गरिएको छ। आफू बसेको ठाउँभन्दा मायालुको सामीप्यमा पुग्न लालायित प्रेमिकाको गहिरो र मार्मिक भावलाई अभिनेत्री सुहानाले उत्कृष्ट अभिनयमार्फत पर्दामा पोखेकी छन्। यस भिडियोमा सुहानाको जीवन्त अभिनयलाई दर्शकले निकै रुचाएका छन्।

नेपाली सङ्गीत जगत्‌कै पहिलो महिला सङ्गीतकार शान्ति ठटालको सङ्गीत तथा मनबहादुर मुखियाको शब्द रचना रहेको यस मूल गीतलाई अहिले गायिका निशु शर्माको स्वरमा सजिएको छ। विनोद भुजेलको नयाँ सङ्गीत संयोजन (एरेन्ज) रहेको यस गीतलाई निर्माण टोलीले अग्रज गायिका अरुणा लामाप्रति समर्पित गर्दै सम्मान व्यक्त गरेको छ। नेपाली श्रोतामाझ निकै लोकप्रिय यो सदाबहार गीतले नयाँ पुस्तालाई पनि उत्तिकै मन्त्रमुग्ध बनाउँदै छुट्टै छाप छोड्ने विश्वास निर्माण पक्षको छ।

साहित्यकार गुरुप्रसाद मैनालीको चर्चित कथासङ्ग्रह ‘नासो’मा सङ्ग्रहित अमर कृति ‘परालको आगो’मा आधारित रहेर यो चलचित्र निर्माण गरिएको हो। स्मरणीय छ, ४५ वर्षअघि प्रताप सुब्बाको निर्देशनमा समेत यही कथामा आधारित रहेर चलचित्र निर्माण भएको थियो। अहिलेको नयाँ संस्करणमा भने सुहाना र प्रकाशका साथै सौगात मल्ल, सिर्जना अधिकारी, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने र बाल कलाकार मञ्जिला बानियाँ लगायतको सशक्त अभिनय देख्न सकिन्छ।

हरि ॐ सिने मेकर्स प्रा.लि.को ब्यानरमा निर्माण भएको यस चलचित्रलाई लक्ष्मण सुनारले निर्देशन गरेका हुन्। सुशील पोखरेलको लगानी रहेको चलचित्रको पटकथा तथा संवाद सुशील देवकोटाले तयार पारेका हुन्। चलचित्रका अन्य गीतहरूमा शान्ति ठटालसँगै सत्य–स्वरूप आचार्य र प्रकाश सपुतको सङ्गीत तथा मनबहादुर मुखिया, सुरेन्द्र राना र प्रकाश सपुतकै शब्द सुन्न सकिन्छ।

गीत:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu