अभिनेत्री मिरुना मगर र फुर्पा तामाङबीच सहमति भएको छ । मंगलवार प्रत्यक्ष भेट गरेर उनीहरुले एकअर्कालाई खादा लगाएर आ-आफ्नो गल्ती स्वीकार गर्दै सहमति पत्रमा हस्ताक्षर गरेका हुन् । फुर्पाले गल्ती स्वीकार गर्दै माफी मागेको र मिरुनाले भाई सम्झेर माफी दिएको उनीहरुले हस्ताक्षर गरेको मिलापत्रमा उल्लेख छ ।

मिरुना र फुर्पाले हस्ताक्षर गरेको पत्रमा भनिएको छ, ‘कबड्डी ४ : द फाइनल म्याच’ हेर्ने दर्शकहरुसँग साक्षात्कार गर्ने क्रममा सिभिल मलको क्यूएफएक्स हलमा पुगेकी अभिनेत्री मिरुना मगरमाथि अभद्र व्यवहार सम्बन्धि घटनामा मुगु घर भएका फुर्वा तामाङले गल्ती स्वीकार गरी अभिनेत्री मिरुना मगरसमक्ष माफी मागेको र अभिनेत्री मिरुना मगरले भाई सम्झेर माफी दिएकी छन् ।’
अभिनेत्री मगरले कुनै जाती, धर्म, सम्प्रदायप्रति पुग्ने आशयले कुनै कार्य नगरेको भएपनि उक्त परिस्थितिमा आकस्मिक प्रतिक्रिया जनाउने क्रममा घटित भएको घटनाबाट सिंगो बौद्ध धर्मालम्बी, भिक्षु, लामा समुदाय तथा सम्प्रदायमा पर्न गएको असरप्रति क्षमा याचना पनि गरेको पत्रमा उल्लेख छ । मिरुना र फुर्वाले आगामी दिनमा यस विषयमा विवाद नगर्ने भन्दै पत्रमा हस्ताक्षर गरेका छन् ।

आइतवार सिभिल हलमा आफूमाथि दुर्व्यवहार गरेको भन्दै मिरुनाले तामाङलाई सार्वजनिक स्थानमा थप्पड हानेर प्रहरीको जिम्मा लगाएकी थिइन् । दुई दिन प्रहरी हिरासतमा विताएपछि मंगलवार तामाङ तीन हजार धरौटीमा छुटेका हुन् । मिरुनाले फुर्पालाई सार्वजनिक ठाउँमा हातपात गरेको भन्दै मंगलवार बौद्ध धर्मालम्बीहरुले चाबहिलमा मिरुना र ‘कबड्डी ४’विरुद्ध प्रदर्शन गरेका थिए ।