
नेपाली चलचित्र ‘सिन्दुरे जात्रा’को छायांकनका क्रममा दुर्घटनामा परी मुख्य अभिनेता विजय बराल घाइते भएका छन्। पर्वतको कुस्मा नगरपालिकास्थित आर्थर डाँडाखर्कमा सुटिङ भइरहेको अवस्थामा घोडाबाट खसेर उनको दाहिने हातको नाडीको जोर्नीमा चोट लागेको हो। यो अप्रत्याशित घटनासँगै चलचित्रको छायांकन तत्कालका लागि पूर्ण रूपमा रोकिएको छ।
गत जेठ १ गतेबाट सुरु भएको चलचित्रको छायांकनले करिब १५ दिनको अवधि पार गरिसकेको थियो। यसैबीच, बुधबार एउटा दृश्यका लागि घोडा चढ्ने क्रममा अचानक सन्तुलन गुम्न पुग्दा अभिनेता बराल दुर्घटनामा परेका हुन्। निर्माण पक्षका अनुसार चोटग्रस्त बराललाई प्राथमिक उपचारका लागि कुस्मा हुँदै थप उपचारार्थ पोखरा पुर्याइएको थियो। परीक्षणका क्रममा उनको दाहिने हातको नाडीको जोर्नीको हड्डी फ्याक्चर भएको देखिएपछि हाल प्लास्टर गरिएको छ।
मुख्य कलाकार नै घाइते भएपछि ३५ दिनका लागि तय गरिएको छायांकन तालिका प्रभावित बन्न पुगेको छ र सम्पूर्ण टोली राजधानी काठमाडौं फर्किएको छ। चलचित्रका निर्देशक सरोज पौडेलले अभिनेता बरालको स्वास्थ्य अवस्था नै आफूहरूको पहिलो प्राथमिकता रहेको बताएका छन्। चिकित्सकले उनलाई कम्तीमा ३५ देखि ४० दिनसम्म पूर्ण आराम गर्न सल्लाह दिएकाले अब बाँकी छायांकन आगामी असार १५ गतेपछि मात्र सुचारु हुने निर्देशक पौडेलले जानकारी दिए। यता, घाइते अभिनेता बरालले कामकै सिलसिलामा अप्रत्याशित दुर्घटना भएको बताउँदै चिकित्सकको निगरानीमा आराम गरिरहेको र पूर्ण रूपमा निको भएपछि काममा फर्किने प्रतिबद्धता जनाएका छन्। यस विश्रामले गर्दा आफ्ना अन्य केही चलचित्रका निर्धारित तालिकाहरूमा समेत सामान्य हेरफेर हुन सक्ने उनले सङ्केत गरेका छन्।
सारङ्गी फिल्म्सको ब्यानरमा निर्माण भइरहेको ‘सिन्दुरे जात्रा’मा विजय बरालका साथै अञ्जना बराइली र विनोद न्यौपानेको मुख्य अभिनय रहेको छ। विशेषतः ऐतिहासिक सफलता प्राप्त चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’पश्चात् निर्देशक पौडेल तथा कलाकारद्वय बराल र बराइलीको यो दोस्रो ठूलो सहकार्य हो। निर्देशक पौडेल स्वयंको कथा रहेको यस चलचित्रको पटकथा तथा संवाद सबिन अधिकारी र वसन्त न्यौपानेले तयार पारेका हुन्। आरआर फिल्म्सले वितरणको जिम्मा लिएको यस सिनेमाको डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ।






