गाउँदेखि सहरसम्मको सङ्घर्ष बोकेको ‘आइ एम जीत बहादुर’ को ट्रेलर सार्वजनिक, असार ५ मा हलमा आउँदै



राजधानीमा एक विशेष कार्यक्रमको आयोजना गर्दै अभिनेता जितु नेपाल निर्मित चलचित्र ‘आइ एम जीत बहादुर’ को आधिकारिक ट्रेलर सार्वजनिक गरिएको छ। आगामी असार ५ गतेबाट देशव्यापी रूपमा प्रदर्शनमा आउने यस चलचित्रको ट्रेलरलाई ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत पनि दर्शकमाझ ल्याइएको हो।
सार्वजनिक ट्रेलरमा गाउँबाट ठुलो सपना बोकेर सहर छिरेको एक युवाको कथा देखाइएको छ। विशेषगरी, एक सफल कलाकार बन्नका लागि ती युवाले गर्नुपरेको सङ्घर्ष, झेल्नुपरेका चुनौती र जीवनको उतारचढावलाई ट्रेलरमा निकै मार्मिक ढङ्गले प्रस्तुत गरिएको छ। तीन दशकभन्दा लामो समयदेखि नेपाली रङ्गक्षेत्रमा सक्रिय अभिनेता जितु नेपाल यस चलचित्रमा एउटा फरक अवतारमा प्रस्तुत भएका छन्, जहाँ उनले कलाकार बन्ने हुटहुटी बोकेको सोही सङ्घर्षशील युवाको जीवन्त भूमिका निर्वाह गरेका छन्।
भारतीय बङ्गाली मूलका निर्देशक सुभेन्दु घोषको कथा तथा निर्देशन रहेको यस चलचित्रमा जितुको जोडीको रूपमा अभिनेत्री वर्षा राउत प्रस्तुत भएकी छन्। निर्माण पक्षका अनुसार यसअघि रिलिज भएको टिजरले दर्शकबाट निकै राम्रो प्रतिक्रिया पाएको थियो। चलचित्रमा जितु र वर्षाका साथै प्रियंका कार्की, सन्दीप क्षेत्री, देशभक्त खनाल, पवन खतिवडा ‘बाबा’, निरज नेपाल र अंसु महर्जनलगायतका चर्चित अनुहारहरूको अभिनय देख्न सकिन्छ।
कर्मभूमि क्रियसनको ब्यानरमा निर्माण भएको ‘आइ एम जीत बहादुर’ का कार्यकारी निर्माताहरू निश्चल कुँवर र निरज नेपाल हुन्। यसैगरी, राजन सिंखडा र दीपेन्द्र अधिकारीले सह–निर्माताको जिम्मेवारी सम्हालेका छन्। भारतीय छायाँकार अरविन्दले खिचेको यस चलचित्रको सम्पूर्ण पोस्ट–प्रोडक्सनको काम पनि भारतमै सम्पन्न गरिएको निर्माण पक्षले जनाएको छ। चलचित्रलाई देशभरका हलसम्म पुर्‍याउने जिम्मा वितरण कम्पनी आरआर फिल्म्सले पाएको छ भने यसको डिजिटल राइट्स ओएसआर डिजिटलले खरिद गरेको छ। हास्य विधा हुँदै गम्भीर चरित्र अभिनयमा समेत आफूलाई अब्बल साबित गर्दै आएका जितु नेपालको व्यक्तिगत र व्यावसायिक यात्राका हिसाबले पनि यो चलचित्रलाई निकै अर्थपूर्ण मानिएको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu