नेपाली चलचित्र ‘प्रेमगीत ३’ नेपालमा हिन्दी भाषामा पनि प्रदर्शन हुने भएपछि निर्देशक, निर्माता, कलाकार तथा वितरक अशोक शर्माले सोमवार फेसबुकमा स्टाटस लेख्दै हिन्दी डब नेपालमा प्रदर्शन गर्दा नेपाली भाषा, संस्कृतिमा दुर्गामी प्रभाव पर्ने बताएका छन् । उनले ‘प्रेमगीत ३’को हिन्दी डबिङ नेपालमा प्रदर्शन नगर्न चलचित्रको टिमलाई आग्रह गरेका छन् ।

उनले लेखेका छन्, ‘‘प्रेमगीत ३’का निर्माता सन्तोष सेन, वितरक मनोज राठी र गोविन्द शाही तथा कलाकार प्रदीप खड्काहरुलाई विनम्र अनुरोध छ कि नेपालमा उक्त चलचित्र नेपाली, अझ सम्भव भए देशका अन्य जातजातीका भाषामा डब गरी प्रदर्शन गराऊँ । तर, हिन्दीमा नगराऊँ । यसको दुर्गामी प्रभाव हाम्रो भाषा, संस्कृति र हाम्रो क्षेत्रमा पर्छ । यो मेरो अनुरोध हो निर्णय तपाईंहरुको ।’’

केही दिनअघि निर्देशक तथा कलाकार मोहन निरौलाले पनि फेसबुकमा स्टाटस लेख्दै नेपालमा नेपाली भाषामा मात्र चलचित्र प्रदर्शन गर्नु सान्दर्भिक र न्यायोचित हुने बताएका थिए । उनले लेखेका थिए, ‘भाषालाई जीवन्त राख्नु हाम्रो पहिलो दायित्व र कर्तव्य हो ।’ भाषा अतिक्रमणको बारेमा चिन्ता व्यक्त गर्ने अन्य चलचित्रकर्मीहरुले पनि ‘प्रेमगीत ३’लाई नेपालमा हिन्दीमा प्रदर्शन नगर्न आग्रह गरेका छन् ।