पत्रकार तर्साउने गलत बाटो



विश्वमणि सुवेदी। ०१-४२५३९९७ । नम्बर कण्ठ थियो । तर, बाइकमा हुनाले फोन उठाइरहेको थिइनँ । कलब्याक गर्दा फोन धेरै व्यस्त रह्यो । सोचेँ, व्यस्त ठाउँको फोन उतिबेलै उठाउनुपर्थ्यो । सोच्दासोच्दै जिवन पराजुली भाइको फोन आयो । उहाँले ‘तुलसी’ फिल्मबारे ‘ठूलोपर्दा डटकम’मा लेखेको समाचारका कारण त्यसका निर्देशक र नायिका महानगरीय प्रहरी परिसर हनुमानढोकामा विद्युतीय कारोबार ऐनअन्तर्गत कारवाही चलाउनुपर्ने मागसहित पुगेको जानकारी दिनुभयो । उहाँसँगको कुराकानी सकिनासाथ माथि उल्लेखित नम्बरबाट फेरि फोन आयो । उठाएँ । बोल्दै थिए, प्रहरी परिसरस्थित मुद्दा फाँटका डिएसपी रमेश बस्नेत । भन्दै थिए, ‘फेरि समाचार लेखेकै आधारमा विद्युतीय कारोबारको उजुरी आयो, हामी समस्यामा पर्यौं ।’

यसअघि सुशील पन्तसहितका सञ्चारकर्मीले अनलाइनमा लेखेको समाचारकै आधारमा विद्युतीय कारोबार ऐनअन्तर्गत मुद्दा चलाइएको थियो । एउटा अगुवा सञ्चारसम्बद्ध संगठनको जिम्मेवार पदाधिकारी हुनुका नाताले पन्त पक्राउ र मुद्दा अभियोजन प्रक्रियामाथि हामीले आपत्ति जनायौं । उनको रिहाईको पहल गर्नेमध्येको एक व्यक्ति हुनाको नाताले हुनुपर्छ, हनुमानढोकाबाट डिएसपीले ताकेता गर्नुपरेको । पीडितहरु वकिल र ऐनको ठेली बोकेर पुगेका थिए । डिएसपी निक्कै आत्तिएका थिए, दर्ता गरौं- प्रेस काउन्सिल र सिंगो प्रेस जगत खनिने डर, नगरौं– ऐनअनुसार नगर्नुपर्ने स्थिति पनि थिएन । हाम्रो दावी हो कि, नेपाली सञ्चारमाध्यमको नियामक निकाय प्रेस काउन्सिल नेपाल हो । विद्युतीय वा छापामाध्यममा प्रकाशित/प्रशारित समाचारबारेको उजुरी हेर्ने अधिकारी पनि प्रेस काउन्सिल नै हो ।

हालसालैको एउटा मानहानी मुद्दासम्बन्धी जिल्ला अदालतको फैसलामा न्यायाधीशले स्पष्ट उल्लेख गरेका छन् कि, ‘समाचारमा प्रकाशित विषयका कारण उत्पन्न समस्याबारे प्रेस काउन्सिलमा हालसम्म कुनै सरोकार राखेको नदेखिएको हुनाले…।’ अर्थात्, टाउकोको दुखाई नाइटोको दबाइले निको हुँदैन । सञ्चारमाध्यममा प्रकाशित समाचारले कसैलाई कुनै समस्या परेमा त्यसउपर प्रतिवाद गर्ने प्रचलित प्रेस कानुन र कतिपय व्यवहारिक बाटो छँदाछँदै सरोकारवालाहरु ऐनका ठेली बोकेर अपराध नियन्त्रण गर्ने निकायमा पुग्नुको कुनै तुक रहँदैन । प्रकाशित समाचारका विषयमा सोध्नु÷बुझ्नुपर्ने निकायको व्यवस्था राज्यले गरेको छ । त्यो प्रेस काउन्सिल हो । संविधानमै मानवअधिकार र प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरेको नेपालजस्तो मुलुकमा प्रहरीले सञ्चारमाध्यममा प्रकाशित समाचार उपर सोधपुछ र कारवाहीको अधिकार राख्दैन । यसो भनेर, सञ्चारमाध्यमको आडमा कोही व्यक्तिलाई अपराध गर्न छूट छ भनिएको होइन । पछिल्लो समय सञ्चारमध्यमको आडमा धम्की, फिरौती असुली, मानसिक तथा शारिरीक यातनाका घटना बढेका छन् ।

अपराधको नियत साँचेर गरिएका क्रियाकलापउपर विद्यमान ऐन–कानुन आकर्षित हुनु स्वाभाविक हो । जस्तो कि, पत्रकार ऋषि धमला पैसाको बार्गेनिङ गरेको प्रमाणसहित पक्राउ परे । उनको गिरोहका सदस्यबाट हतियार बरामद भयो । त्यस्तो अवस्थामा धमलाले पत्रकार हुनुका कारण उन्मुक्ति पाएनन्, जेल सजायँ भोग्नुपर्यो । तर, समाचार लेखेकै कारण कोही व्यक्ति समस्यामा परेको अवस्थामा त्यसको निरुपण गर्ने विधि फरक छ । यसो भनेर, व्यक्तिको प्रतिष्ठामा आँच पुग्ने, सामाजिक जीवन कष्टकर हुने वा मानसिक यातना हुने समाचार सामग्री प्रकाशित गर्न पत्रकार स्वतन्त्र छन् भनिएको होइन । पत्रकारका लागि राज्यले आचारसंहिता जारी गरेको छ । आचारसंहिता उल्लंघन गरेर प्रकाशित÷प्रशारित समाचार सामग्रीउपर उजुरी गर्नका लागि तोकिएको निकायमा गए प्रचलित कानुनअनुसार सम्बन्धित सञ्चारमाध्यम र सञ्चारकर्मी कारवाहीको भागिदार हुन्छन् । तर, नेपालका केही कलाकार यस्ता छन्, जो देखिँदा सुकिला–मुकिला देखिन्छन् । तर, बुद्धिको घैंटोमा बिर्को लागेको हुन्छ ।

प्रेससँग गर्ने व्यवहार जान्दैनन् वा जानेर पनि बुझ पचाउँछन् । चलचित्र क्षेत्रमा एकाध दलाल पत्रकार छन्, जो चलचित्रकर्मीका दाससरह पालित/पोषित छन् । तिनका उक्साहटमा व्यावसायिक तथा पेशागत पत्रकारमाथि दुव्र्यवहार हुने गरेका अनेकन दृषटन्त छन् । समाचारउपर गरिने शालिन प्रतिवाद सञ्चारमाध्यमका लागि सधैं शीरोधार्य हुन्छ । त्यस्तो अवस्थामा सञ्चारमाध्यम दण्डित हुनुपर्ने स्थिति रहे त्यो दण्ड सहर्ष स्वीकार्य हुन्छ/हुनुपर्छ । तर, यदि आक्रामक प्रतिवाद गरिन्छ भने त्यसको जवाफ पनि त्यहीअनुसार दिनुपर्छ ।

२०६५ सालमा भुवन केसीले फोनमै मुख छाडेर मार्छु र काट्छु भन्दा एक घन्टा गौशाला प्रहरीको छतमा बस्नुपरेको घटना फिल्मकर्मीले नबिर्सिए हुन्छ । भाडाका गुण्डा लगाएर पत्रकार तर्साउने बानी धेरैजसो फिल्मकर्मीमा छ । गुण्डा, जो भाडामा लाग्छन्, आज एउटा विरुद्ध लाग्ने गुण्डा भोलि अर्का विरुद्ध पनि लाग्छन् । पत्रकार तर्साउन प्रयोग गरिने ती गुण्डा भोलि अरुलाई तर्साउन प्रयोग नहुने के ग्यारेन्टी छ ?
(लेखक प्रेस चौतारी नेपालका केन्द्रिय कोषाध्यक्ष तथा जनआस्था साप्ताहिकका प्रमूख समाचारदाता हुनुहुन्छ)
[email protected]

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu