संविधान सभाका अध्यक्षको निधन, कलाकर्मीहरूले यसरी सम्झिए



काठमाडौँ।
संविधान सभाका अध्यक्ष, पूर्व सभामुख एवम् नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्बाङको निधन भएको छ । गएराति १ बजे बालुवाटारस्थित निवासको शौचालयमा बेहोस अवस्थामा फेला परेका उनलाई त्रिवि शिक्षण अस्पताल महाराजगन्ज लगिएको थियो । अस्पताल पुर्‍याएलगत्तै चिकित्सकहरूले मृत घोषणा गरेका थिए ।

७० वर्षको उमेरमा निधन भएका नेम्बाङ २०६४ साल र २०७० सालको दुवै संविधानसभाका अध्यक्ष थिए । उनी हाल इलाम-२ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद थिए ।

नेम्बाङको निधनबाट नेपाली राजनीतिको क्षेत्रमा अपूरणीय क्षति पुगेको प्रतिक्रिया आईरहेका छन् । यसैबिच नेपाली कलाकर्मीहरूले पनि उनको निधनबाट स्तब्ध भएको जनाएका छन् ।

अभिनेता तथा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले नेम्बाङ असल व्यक्तित्व रहेको बताउँदै निधनको खबरले स्तब्ध भएको सोसल मिडियामा लेखेका छन् । उनले लेखेका छन्, “सरल, शालीन र असल व्यक्तित्व, एमाले नेता सुवास नेम्बाङज्युको निधनको खबरले स्तब्ध बनायो । हार्दिक श्रद्धाञ्जली ।”

अभिनेत्री करिश्मा मानन्धरले नेम्बाङको निधन भएको खबरले अत्यन्तै दुखी बनाएको बताएकी छन् । उनले सोसल मिडियामा भनेकी छन्, “संविधान सभा अध्यक्ष, पूर्व सभामुख, नेकपा एमालेका उपाध्यक्ष एवम् सालीन नेता सुवास नेम्बाङको निधन भएको खबरले अत्यन्तै दुखी बनाएको छ । आदरणीय नेताप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।”

निर्देशक तथा कलाकार दिपाश्री निरौलाले पनि सोसल मिडियामार्फत श्रद्धाञ्जली दिएकी छन् । “भावपूर्ण श्रद्धाञ्जली । संविधानसभा अध्यक्ष, पूर्व सभामुख एवम् नेकपा एमालेका उपाध्यक्ष सुवास चन्द्र नेम्बाङ प्रति भावपूर्ण श्रद्धाञ्जली । आत्माको चिरशान्तिको कामना शोकाकुल परिवार जनमा गहिरो समवेदना”, निरौलाले लेखेकी छन् ।

अभिनेता रमेश उप्रेतीले सुभाष नेम्बाङलाई श्रद्धाञ्जली दिँदै सधैँ नै सम्झना गरिरहने बताएका छन् ।

हास्यकलाकार सुरज चापागाई ‘बान्द्रे’ले कसैलाई नबिझाउने व्यक्ति गुमाएको बताएका छन् । उनले भनेका छन्, “जनताले एकपल्ट प्रधानमन्त्री भएको हेर्ने सपना अधुरो रह्यो, शालीन र कुशल नेतृत्व ! कसैलाई नबिझाउने संविधान सभाका अध्यक्ष, पूर्व सभामुख, नेकपा एमाले इलाम-२ बाट निर्वाचित सांसद नेता सुवास चन्द्र नेम्बाङको असामयिक निधनको खबरले स्तब्ध तुल्यायो ! दिवङ्गत आत्मा प्रति श्रद्धा-सुमन एवं शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु !”

गायक तथा सङ्गीतकार कस्तुप पन्तले नेम्बाङ निधनको खबर अत्यन्तै दु:खद रहेको बताएका छन् । उनले लेखेका छन्, “अत्यन्तै दु:खद खबर । संविधानसभा अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्बाङ प्रति हार्दिक श्रद्धाञ्जली ।”

(नोट: स्व. सुवास नेम्बाङको निधनको प्रसंगमा कलाकर्मीहरूले प्रकट गरेका श्रद्धाञ्जलीहरू थप गर्दै जानेछौँ ।)

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu