चलचित्र निर्देशक गोपाल लामिछानेले गरे पुनर्विवाह, छोराछोरीले गरे पहल



बाल्टिमोर। अमेरिका बस्दै आएका नेपाली चलचित्र निर्देशक गोपाल चन्द्र लामिछाने र उनकी धर्मपत्नी गीता गिरी लामिछानेले पुनर्विवाह गरेका छन् । विवाह भएको २५ वर्ष पुगेको शुभ अवसरमा अमेरिकाको बाल्टिमोरको हिन्दु बौद्ध मन्दिरमा भव्य समारोहका बिच हिन्दु संस्कार अनुसार उनीहरूले पुनर्विवाह गरेका हुन् ।

पुनर्विवाहको लागि छोरी मोनिका र छोरा मौलिकले पहल गरेका हुन् । पारिवारिक विघटन, एकल परिवारप्रतिको मोह र सम्बन्ध विच्छेदजस्ता विषयले प्रशय पाइरहेको अहिलेको समयमा अमेरिकाजस्तो उत्तर आधुनिक समाजमा बसेर छोरा-छोरीले बाबु-आमा र परिवारप्रति देखाएको यस्तो सत्प्रयासले स्थानीय समाजमा मात्रै नभएर सात समुद्रवारि नेपालमा समेत सकारात्मक छाप छोडेको छ ।

पौराणिक शास्त्रहरूमा भनिएको छ, परिवार सुख नै सर्वोच्च सुख हो । यो पुनर्विवाह देखेर अमेरिकामा बस्ने नेपाली समाज मात्रै नभएर त्यहाँको स्थानीय अमेरिकी समाज पनि निकै प्रभावित भएको छ । मोनिका र मौलिकले यसलाई यो पुनर्विवाह मात्रै नभएर पारिवारिक सम्बन्धको पर्याय र बाबु-आमा तथा छोरा-छोरीबिचको सम्बन्ध कस्तो हुनुपर्छ भन्ने गतिलो उदाहरण दिन समारोह आयोजना गरेको बताए ।

हिन्दु धर्म संस्कारमा पनि पुनर्विवाहलाई सम्बोधन गरिएको छ । वास्तवमा भगवान् रामले पनि आफ्नो विवाहको २५औँ वर्षमा पुनर्विवाह गरेका कथन शास्त्रहरूमा फेला पर्छन् । हिन्दु धर्मका सोह्र संस्कारमध्ये विवाहलाई सृष्टिको आधार र पारिवारिक संरचनाको पूर्वाधार मानिएको छ । त्यसमा पनि विवाहलाई २५ वर्षसम्म निरन्तरता दिएर सन्तानले नै पुनर्विवाह गरिदिनु भनेको उनीहरूको कर्तव्य बोध मात्रै नभएर पितृ ऋणको मर्मको ज्ञान हुनु पनि हो ।

अमेरिकामा यसलाई ‘रिन्युइङ भोज’ वा रिम्यारिज भनिन्छ । यसको अर्थ विवाहित जोडीले एक-अर्काप्रति आफ्नो प्रतिबद्धता पुनः पुष्टि गर्न आयोजित उत्सव वा समारोह भन्ने हुन्छ ।

चलचित्र निर्देशकहरूको छाता संस्था नेपाल चलचित्र निर्देशक समाजको सदस्य, कार्यकारी सदस्य, सह–कोषाध्यक्ष हुँदै महासचिवको समेत जिम्मेवारी सम्हालिसकेका गोपालचन्द्र अहिले अमेरिकामा पनि अन्तर्राष्ट्रिय पर्वत समाजका सल्लाहकार, इनासका प्रवक्ता तथा पर्वत समाज अमेरिकाका सल्लाहकार रहेका छन् ।

पुनर्विवाह समारोहमा अमेरिकामा रहेका चलचित्रकर्मीहरू अभिनेता राजबल्लभ कोइराला, निर्देशन सुमन दाहाल, अभिनेता राहुल केसी लगायत उपस्थित थिए ।

उनले ‘द मिरर’, ‘बोक्सी’, ‘किन लाग्छ माया’, ‘लम्फू’ लगायतका चलचित्रहरू निर्देशन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu