
काठमाडौं – आगामी साउन १ गतेबाट देशभरका सिनेमाघरमा प्रदर्शनको तयारीमा रहेको बहुप्रतिक्षित नेपाली चलचित्र ‘गौँथली’ को पहिलो र अत्यन्तै मर्मस्पर्शी गीत सार्वजनिक भएको छ। बिहीबार काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमका बीच निर्माण पक्षले चलचित्रमा समावेश ‘आँखाभरि आँसु’ बोलको गीत दर्शकमाझ ल्याएको हो।
सार्वजनिक यो गीतले जोकोहीको आँखा रसाउने निश्चित छ। वरिष्ठ चिकित्सक तथा गीतकार डा. भोला रिजालको मर्मस्पर्शी शब्द रहेको यस गीतमा लोकप्रिय गायक थानेश्वर गौतम स्वयंको सङ्गीत रहेको छ। स्वरमा भने थानेश्वरलाई अहिलेकी सर्वाधिक चर्चित गायिका शान्तिश्री परियारले उत्कृष्ट साथ दिएकी छन्।
गीतको भिडियोमा करिब तीन दशकअघि गाउँघरमा हुने परम्परागत विवाहको यथार्थपरक र सुन्दर परिवेशलाई जस्ताको तस्तै उतारिएको छ। भिडियोको केन्द्रमा चलचित्रका मुख्य जोडी अरुण क्षेत्री र सिम्रन खड्कालाई राखिएको छ, जहाँ उनीहरूको विवाह भइरहेको देख्न सकिन्छ।
माइतीघरको आँगन छाडेर सधैँका लागि पराई घर जान लागेकी छोरीले आफ्नो परिवारप्रति गरेको गुनासो र आमाबुबाले ‘नरोई जान’ गरेको भावपूर्ण आग्रहलाई यो गीतले निकै गहिरो र मर्मस्पर्शी रूपमा प्रस्तुत गरेको छ। भिडियोमा अरुण र सिम्रनको केमेस्ट्री र उनीहरूको भावुक प्रस्तुतिले पुरानो पुस्तालाई आफ्नो विगतको याद दिलाउनेछ भने नयाँ पुस्तालाई हाम्रो मौलिक संस्कृतिको चिनारी दिनेछ।
बाबु भोला रिजालको कथा रहेको यस चलचित्रलाई उनकै छोरा डा. कपिल रिजालले निर्देशन गरेका हुन्। चलचित्रको स्टारकास्ट पनि निकै जम्बो र शक्तिशाली छ। यसमा अरुण र सिम्रनसँगै मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रविन्द्र झा, ईश्वरी बराल, संयोग रसाइली, र सीतादेवी तिमिल्सिना जस्ता दिग्गज कलाकारहरूको जीवन्त अभिनय देख्न पाइनेछ।
भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको संयुक्त प्रस्तुति रहेको यस चलचित्रमा सुमन गिरी (भान्जा) र डा. कपिल रिजाल निर्माताका रूपमा हुन् भने कार्यकारी निर्मातामा सरला रिजाल हुन्। हरि हुमागाईंको छायांकन रहेको चलचित्रमा कपिल रिजाल, निश्चल कुँवर, शिव शर्मा, अभिमन्यू निरवी, निरज नेपाल र गिरिराज घिमिरेको लेखन रहेको छ।
गीत:




