काठमाडौं – जिन्दगी साँच्चै नै एउटा ‘दर्पण छायाँ’ जस्तै रहेछ। समयको चक्र घुम्दै जाँदा हिजोका सपनाहरू आज कसरी यथार्थ बन्छन् भन्ने कुराको एउटा सुन्दर र भावुक उदाहरण यी दुईवटा तस्बिरहरू हुन्।

पहिलो तस्बिर निकै पुरानो हो। यो त्यो समयको तस्बिर हो, जतिबेला नेपाली सिनेमामा अभिनेत्री निरुता सिंहको एकछत्र राज थियो। नीलो पहिरनमा सजिएकी सुपरस्टार निरुताको छेउमा बसेर एकजना सानी बच्चीले निकै कौतूहलता र खुसीका साथ फोटो खिचाइरहेकी छिन्। त्यतिबेला ती सानी बच्चीलाई सायदै थाहा थियो होला कि, एकदिन उनी आफैँ पनि नेपाली सिनेमाकी सबैभन्दा व्यस्त र सफल नायिका बन्नेछिन्! निरुता सिंहसँग फोटो खिचाउने ती सानी बच्ची अरु कोही नभएर अहिलेकी ब्लकबस्टर नायिका मिरुना मगर हुन्।
अनि दोस्रो तस्बिर, जहाँ हिजोकी ती सानी फ्यान (मिरुना) र हिजोकी सुपरस्टार (निरुता) आज एउटै फ्रेममा, दुई सफल अभिनेत्रीको रूपमा मुस्कुराइरहेका छन्। पहेँलो पहिरनमा मिरुना र ब्ल्याक एन्ड ह्वाइट साडीमा निरुताको यो तस्बिरले समयको एउटा सुन्दर चक्र पूरा भएको कथा बोल्छ।
यही दुई तस्बिर सामाजिक सञ्जालमा सेयर गर्दै मिरुना मगरले निकै भावुक क्याप्सन लेखेकी छन्। उनले यसलाई आफ्नो जीवनको ‘अ ट्रुली स्पेसल फुल सर्कल मोमेन्ट’ अर्थात् एउटा विशेष पूर्ण चक्र भनेकी छन्।

मिरुना लेख्छिन्— ‘मैलेआफूएकदिनअभिनेत्रीबन्छुभनेरकल्पनागर्नुभन्दाधेरैअघि, एउटीसानीबच्चीहुँदानिरुताम्यामलाईभेटेकीथिएँ।मउहाँकाफिल्महरूहेर्दैरउहाँकागीतहरूमानाच्दैहुर्किएकीहुँ।उहाँत्यतिबेलापनिमेरोआदर्शहुनुहुन्थ्योरआजपनिहुनुहुन्छ।‘
धेरै वर्षपछिको यो भेटमा मिरुनाले निरुतालाई एउटी स्टारको रूपमा मात्र नभई, एउटी सुन्दर र शालीन व्यक्तित्वकी धनीको रूपमा अझ बढी सम्मान गर्न थालेको बताएकी छन्। मिरुनाले निरुतालाई प्रतिभा, सुन्दरता, दया र शालीनताको ‘पर्यायवाची’ नै मानेकी छन्।
मिरुनाले आफ्नो पोस्टको अन्त्यमा लेखेको ‘जिन्दगानी दर्पण छायाँ’ भन्ने वाक्यले यो सम्पूर्ण कथालाई पूर्णता दिएको छ। हिजो निरुताका गीतमा नाच्ने मिरुना आज आफैँ लाखौँ दर्शकको ढुकढुकी बनेकी छन्।




